काठमाण्डाै – वार्षिक झन्डै १ खर्ब रुपैयाँको वस्तु तथा सामान आयत हुने चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानी ठप्प हुँदा बजारमा चीनबाट आउने सामानसँगै मूल्यवृद्धिको जोखिम बढेको छ ।
पहिरोका कारण नेपाल–चीनबीचको महत्त्वपूर्ण व्यापारिक मार्ग अवरुद्ध छ । तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत दीपेन्द्रप्रकाश गिरीले विभिन्न ठाउँको पहिरोका कारणले नेपाल र चीनबीचको वैदेशिक व्यापारमा समेत प्रभाव पारेको बताउनुभयो ।
यो नाका सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाअन्तर्गत पर्ने नेपाल र चीनको सिमाना कोदारीमा छ । सडक अवरुद्ध भएकाले चीनबाट मालवाहक सामानसहितका कन्टेनर भित्रिन सकेका छैन ।
भोटेकोशी गाउँपालिका–४ जिरोकिलो, वडा नम्बर –२ कोदारी र लिपिङ क्षेत्रमा पहिरो खस्नुका साथै सडक भासिएपछि अरनिको राजमार्गका विभिन्न खण्ड पूर्णरूपमा अवरुद्ध भएका हुन् ।
चीनबाट नेपाल भित्रिने तयारी पोसाक, जुत्ताचप्पल, विद्युतीय सामग्री, फलफूल, मेशिनरी तथा विभिन्न उपभोग्य वस्तुको आयात हुन सकेको छैन । तातोपानी नाका हुँदै नियमितरूपमा आउने सामान रोकिन थालेपछि व्यापारीहरूमा चाडपर्वको बेला भाउ बढ्ने चिन्ता बढेको छ ।
विशेषगरी तीज, दशैँ र तिहारजस्ता ठूला चाडपर्व नजिकिँदै गर्दा चीनबाट हुने आयात प्रभावित भएको नेपाल हिमालय सीमापार वाणिज्य सङ्घका अध्यक्ष रामहरि कार्कीले उज्यालोलाई जानकारी दिनुभयाे ।
चाडपर्वका बेला कपडा, जुत्ता, विद्युतीय सामग्री, घरायसी उपकरणलगायत वस्तुको माग सामान्य समयभन्दा धेरै हुने गर्छ । यही समयमा आपूर्ति नहुँदा बजारमा सामानको अभावसँगै मूल्य बढ्न सक्ने जोखिम देखिएको उहाँको भनाइ छ ।
नेपाल–चीन व्यापारका लागि तातोपानी र रसुवागढी प्रमुख स्थलमार्ग हुन् । तातोपानी भन्सार कार्यालयका अनुसार सामान्य अवस्थामा यो नाका हुँदै दैनिक ३० देखि ४० वटा मालवाहक ट्रक नेपाल भित्रिने गर्छन् । तर अहिले पहिरोका कारण सडक अवरुद्ध भएपछि नेपालतर्फ दर्जनौँ कन्टेनर रोकिएका छन् भने चीनतर्फ पनि ठूलो सङ्ख्यामा सामान बोकेका कन्टेनर अड्किएका छन् ।
तातोपानी भन्सारले चालू आर्थिक वर्षमा २५ अर्ब रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको छ । कार्यालयले सामान्य अवस्थामा १ दिनमा झन्डै १३ करोड रुपैयाँसम्म राजस्व सङ्कलन गर्ने गरेको छ । लामो समय नाका बन्द रहँदा भन्सार राजस्वमा समेत प्रत्यक्ष असर पर्ने देखिएको छ ।
चाडपर्वलाई लक्षित गरेर चीनबाट धेरै अगाडिदेखि नै सामान ल्याउने गरिन्छ । व्यापारीहरूले मगाएको सामान बाटोमै रोकिँदा नयाँ सामान बजारमा ल्याउन समस्या भएको छ ।
नेपाल हिमालय सीमापार वाणिज्य सङ्घका अध्यक्ष कार्कीका अनुसार नाका लामो समय बन्द रह्यो भने यसको प्रत्यक्ष असर व्यापार र उपभोक्तामा पर्ने जोखिम छ । उहाँले वर्षायाममा हरेक वर्ष सडक अवरुद्ध हुने समस्या दोहोरिने र यसको दीर्घकालीन समाधान हुन नसक्दा व्यापारीले ठूलो जोखिम बेहोर्नुपरेको बताउनुभयो ।
कार्कीले सरकार र सम्बन्धित निकायले तत्काल सडक खुलाउनेसँगै वर्षायाममा पनि व्यापार सञ्चालन गर्न सकिने व्यवस्था गर्नुपर्नेमा जोड दिनुभएको छ । नाका नखुलेर यही अवस्था लामो समय कायम रहेमा चाडपर्वको व्यापार प्रभावित हुनुका साथै ढुवानी लागतसमेत बढ्ने उहाँको भनाइ छ ।
व्यवसायीहरूका अनुसार नाका बन्द हुँदा पहिलो असर आपूर्तिमा पर्छ । बजारमा नयाँ सामानको आपूर्ति कम हुँदै गएपछि व्यापारीसँग मौज्दातमा रहेको सामानको माग बढ्न सक्छ । माग र आपूर्तिबीच असन्तुलन बढेमा मूल्य बढ्ने सम्भावना हुन्छ । त्यसमाथि लामो समयसम्म कन्टेनर बाटोमै रोकिँदा ढुवानी तथा भण्डारण खर्च बढ्छ ।
यसअघि अघिल्लो वर्ष पनि नेपाल–चीनका उत्तरी नाका अवरुद्ध हुँदा चाडपर्वका लागि चीनबाट ल्याइएका कपडा, जुत्ता, विद्युतीय सामग्रीलगायत सामान समयमै नेपाल भित्रिन नसकेको र त्यसले बजारमा मूल्य बढ्ने चिन्ता उत्पन्न गरेको थियो ।
लामो समयदेखि चीनतर्फ र नेपालतर्फ रोकिएका कन्टेनरलाई क्रमशः नेपाल भित्र्याउनुपर्ने अहिलेको मुख्य आवश्यकता रहेको व्यापारीहरूको माग छ ।
तातोपानी–कोदारी सडक खण्डमा विगतमा पनि पहिरो र भौगोलिक जोखिमका कारण पटक–पटक व्यापार प्रभावित हुँदै आएको छ । व्यवसायीहरूले तत्काल सडक खुलाउन, जोखिमयुक्त ठाउँमा स्थायी संरचना निर्माण गर्न र वर्षायाममा वैकल्पिक मार्गको व्यवस्था गर्न माग गरेका छन् ।
तातोपानी नाका लामो समय बन्द हुँदा व्यावसायी मात्रै नभई भन्सार राजस्व, ढुवानी व्यवसाय, स्थानीय रोजगारी र समग्र आपूर्ति प्रणालीमा असर पर्ने देखिएको छ । यसको प्रत्यक्ष सम्बन्ध देशको अर्थतन्त्रसँग जोडिएको छ ।