नेभिगेशन

खाना पकाउने ग्यासको अभाव कायमै, १ हप्तामै सहज हुने निगमको दाबी

काठमाण्डाै – काठमाण्डाै उपत्यकासहित देशभर ३ हप्ताअघि शुरू भएको खाना पकाउने एलपी ग्यासको अभाव आज पनि कायमै छ ।

आपूर्ति केही सहज हुन थाले पनि डिपोहरूमा सर्वसाधारणले सहजै ग्यास पाएका छैनन् । डिपोमा नाम दर्ता गराएर पालो पर्खिएका उपभोक्ताले ग्यास पाउन अझै ३ देखि ७ दिनसम्म कुर्नुपर्ने बाध्यता छ ।

अभावका बीच नेपाल आयल निगमले काठमाण्डाैको टेकुबाट आफैँ दैनिक १ हजारभन्दा धेरै सिलिन्डर बिक्री गरिरहेको छ । तर एउटै व्यक्ति पटक–पटक लाइनमा बस्दा वास्तविक उपभोक्ता मर्कामा परेका छन् ।

यस्तै दिउँसो शटर बन्द गरेर राति महँगोमा ग्यास बेच्ने कालोबजारी बढेको गुनासो आएपछि प्रहरी खटाएर कारबाही प्रक्रिया अघि बढाइएको निगमले जनाएको छ ।

अहिले भारतबाट दैनिक १०० भन्दा धेरै ग्यास बुलेट नेपाल भित्रिरहेका छन् । आयात बढे पनि विगतको अभावका कारण खाली भएका सबै सिलिन्डर भरिन र बजार पूर्णरूपमा सामान्य हुन अझै झन्डै १ महिना लाग्ने नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष दिवानबहादुर चन्दले बताउनुभयो ।

यद्यपि आयल निगमका प्रबन्ध निर्देशक नागेन्द्र साहले भने १ हप्ताभित्रै आपूर्ति सहज हुने दाबी गर्नुभएको छ ।

प्रकाशित मिति:
थप समाज