नेभिगेशन

एलनिनो’ ले कृषि, उर्जा तथा समग्र जनजीविकामा प्रभाव पार्न सक्ने चिन्ता

काठमाण्डौ — ‘सुपर एलनिनो’ को प्रभाव नेपालको कृषि, उर्जा तथा समग्र जनजीविकामा पर्न सक्नेतर्फ सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।

तापक्रम बढ्ने, खडेरीको सम्भावना र यसबाट पानीको स्रोतमा कमी हुँदा कृषि तथा उर्जासहित समग्र सामाजिक–आर्थिक क्षेत्रमा उल्लेख्य प्रभाव पार्न सक्ने जोखिम छ ।

जलस्रोत, कृषि, ऊर्जा, खाद्य सुरक्षा तथा जनजीविकामा पर्नसक्ने जोखिम न्यूनीकरणका लागि राष्ट्रियस्तरमै पूर्वतयारी आवश्यक रहेकोमा विज्ञ तथा सरोकारवालाले जोड दिएका छन् । सन् २०२६को अन्त्यदेखि २०२७ को शुरुआतसम्म ‘एलनिनो’ थप सशक्त भई ‘धेरै बलियो’ अर्थात् ‘सुपर एलनिनो‘को अवस्थामा पुग्न सक्ने पूर्वानुमान हुँदै आएको छ ।

उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सरिता दवाडीले नेपालमा विगतका एलनिनो वर्षमा वर्षा घट्ने वा बढ्ने दुवै प्रवृत्ति देखिएको उल्लेख गर्दै एलनिनो देखिँदैमा नेपालमा निश्चित रूपमा कस्तो मौसम हुन्छ ? भन्ने निर्धारण नहुने बताउनुभयो ।

जल तथा ऊर्जा आयोगको सचिवालयका सरजुकुमार वैद्यले एलनिनो महासागरमा हुने मौसमी फेरबदल मात्र नभई नेपालको जलस्रोत र अर्थतन्त्रमा प्रत्यक्ष प्रभाव पार्नसक्ने जलवायुजन्य जोखिम भएको जानकारी दिनुभयो ।

नेपालको ८० प्रतिशतभन्दा धेरै विद्युत् उत्पादन नदीको बहावमा आधारित आयोजनामा निर्भर रहेको उल्लेख गर्दै उहाँले नदीको बहाव घट्दा विद्युत् उत्पादनमा कमी आई चुनौती देखिन सक्ने बताउनुभयो । वैज्ञानिक पूर्वानुमान, जोखिम मूल्याङ्कन र सम्बन्धित क्षेत्रका कार्यान्वयन निकायबीचको समन्वयलाई प्रभावकारी बनाएर पूर्वतयारीका काम अघि बढाउनुपर्नेमा विज्ञको जोड छ ।

जल तथा मौसम विज्ञान विभाग विभागका महानिर्देशक डा. अर्चना श्रेष्ठले एलनिनोको अवस्थाअनुसार नेपालका विभिन्न भौगोलिक तथा प्रदेशगत क्षेत्रमा वर्षाको प्रवृत्ति फरक देखिए पनि बलियो एलनिनोको अवस्थामा अधिकांश क्षेत्रमा सामान्यभन्दा कम वर्षाको अवस्था देखिने बताउनुभयो ।

उहाँकाअनुसार विभागले एल निनो र नेपालको वर्षाबीचको सम्बन्धका विषयमा थप विश्लेषण गरिरहेको र अध्ययन अझै बाँकी नै रहेको छ ।   
 

प्रकाशित मिति:
थप समाज