नेभिगेशन

साढे दुई दशकपछि फेरि गुञ्जियो लुमको आवाज

काठमाण्डौ — लामो समयदेखि सुनसान भवन, धुलोले ढाकिएका उपकरण र लहरा पलाएका उत्पादन कक्ष । साढे दुई दशकदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगमा प्रवेश गर्दा प्राविधिक राजप्रसाद अमात्यले देख्नुभएको दृश्य यही थियो ।

जीर्ण देखिएका मेसिन नियाल्दा उहाँका आँसु झरे । तर अहिले त्यही उद्योगमा फेरि लुम (तान) को ‘खटखट’ आवाज गुञ्जिन थालेको छ ।“हामी सुरुमा आउँदा मेसिन हेरेर आँसु आयो”,अमात्यले भन्नुभयो, “हाम्रा मरिसकेका मेसिनलाई जिउँदो बनाएर चलाइदिएका छौँ ।”

सरकारले उद्योग पुनःसञ्चालनको तयारी थालेपछि अमात्य काठमाण्डाैबाट हेटौँडा आउनुभएको हो । आफ्नै कपडा उद्योग सञ्चालन गर्दै आउनुभएका उहाँ सरकारी उद्योग पुनःसञ्चालनमा योगदान गर्न प्राविधिक टोलीसहित यहाँ खटिनुभएको छ । अहिले उद्योगका १० वटा लुमबाट कपडा उत्पादन भइरहेको छ । तीमध्ये तीन वटालाई स्वचालित प्रविधिमा रूपान्तरण गरिएको छ ।

पुराना लुममा नयाँ प्रविधि जडान भएपछि उत्पादन उल्लेख्य बढेको छ । पहिले एउटा लुमबाट आठ घण्टामा २० देखि २५ मिटर कपडा उत्पादन हुने गरेकामा स्वचालित बनाएपछि सोही अवधिमा ६५ देखि ७० मिटरसम्म उत्पादन हुन थालेको प्राविधिक रमेशबहादुर भट्टराईले जानकारी दिनुभयो ।

दाङको तुलसीपुरमा साडी उत्पादनसम्बन्धी काम गर्दै आउनुभएका भट्टराईलाई मेसिन मर्मतका लागि बोलाइएको थियो । उहाँसहितको टोलीले सुरुमा तीन–चार दिन मेसिनको अवस्था अध्ययन गरी आवश्यक सुधारबारे परामर्श गरेको थियो । त्यसपछि पुराना लुमका पार्टपुर्जा परिवर्तन गर्दै स्वचालित प्रणालीमा रूपान्तरण गर्ने काम सुरु भयो ।

लुमलाई स्वचालित बनाउने क्रममा डबी, स्लेवार्ड, ब्रेक र क्लचलगायत उपकरण परिवर्तन गरिएको छ । लामो समय प्रयोगविहीन हुँदा मेसिनमा प्रयोग भएका छाला र काठका सामान नष्ट भए पनि मुख्य फलामे संरचना राम्रो अवस्थामा रहेको भट्टराईले बताउनुभयो । उहाँले भन्नुभयो, “मेसिनका पार्टपुर्जा बिग्रिन्छन्, तिनलाई फेर्न मिल्छ । यहाँ आएर देशको सेवा गर्न पाउँदा खुसी लागेको छ ।”

पुराना ‘सटल लुम’का केही पार्टपुर्जा पाउन भने कठिन छ । लामो समयअघि बनेका ती मेसिनको उत्पादन चीनलेसमेत बन्द गरिसकेको प्राविधिकको भनाइ छ । तर तिनलाई र्यापियर प्रविधि अर्थात् बिना साटल चल्ने आधुनिक बुनाइ मेसिनमा रूपान्तरण गरी स्वचालित रूपमा सञ्चालन गर्न सकिने अमात्यले बताउनुभयो ।

त्यसका लागि आवश्यक सामग्री काठमाण्डाै र ललितपुरका आपूर्तिकर्तामार्फत चीन तथा ताइवानबाट ल्याउन सकिने उहाँ बताउनुहुन्छ ।स्वचालित लुम सञ्चालन गर्दा कम जनशक्तिबाट बढी उत्पादन गर्न सकिन्छ । उद्योगका मेसिनबाट साडी, पोसाक, तन्ना, कोरा, रङ्गीन तथा बुट्टेदार कपडासहित निजामती कर्मचारी र सुरक्षा निकायलाई आवश्यक विभिन्न कपडा उत्पादन गर्न सकिने प्राविधिकहरूको भनाइ छ ।

सरकारले गत असार १८ गते उद्योग पुनःसञ्चालन गर्ने निर्णय गरेपछि नेपाली सेनालाई उद्योग परिसरको सरसफाइ, विद्युत् प्रणाली तथा मेसिन मर्मतको जिम्मेवारी दिएको हो । परीक्षण उत्पादनका लागि ३३ लाख रुपैयाँ उपलब्ध गराइएको छ । हाल नेपाली सेनाको उत्पादन निर्देशनालयका करिब ४० जना प्राविधिक तथा विभिन्न दर्जाका सैनिक उद्योग सञ्चालनको तयारीमा खटिएका छन् ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले गएकाे शनिबार उद्योगको स्थलगत अनुगमन गरी परीक्षण उत्पादन र मर्मतसम्भारको प्रगतिबारे जानकारी लिनुभयो । अनुगमन उहाँले २० वटा लुम सञ्चालनका लागि तयार पारिएको र तीमध्ये १० वटा सञ्चालनमा आइसकेको जानकारी दिनुभयो । त्यसका लागि सरकारले ३३ लाख रुपैयाँ उपलब्ध गराएको र बाँकी मेसिन पनि क्रमशः सञ्चालनमा ल्याइने उहाँको भनाइ छ ।

परीक्षण उत्पादनका लागि आवश्यक कच्चापदार्थ हाल स्वदेशी रिलायन्स उद्योगबाट ल्याइएको मन्त्री यादवले जानकारी दिनुभयो । स्वदेशमै कच्चा पदार्थ उत्पादन गर्न कृषकलाई कपासखेती गर्न आग्रह गरिएको उल्लेख गर्दै उहाँले कृषकले उत्पादन गरेको कपास खरिद गर्न र आवश्यक सहयोग उपलब्ध गराउन सरकार तयार रहेको बताउनुभयो ।

चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा विसं २०३२ भदौ ३० गते कम्पनी दर्ता गरिएको उद्योगको सोही वर्ष पुसमा शिलान्यास भएको थियो । विसं २०३५ कात्तिकदेखि परीक्षण उत्पादन थालेको उद्योगको विसं २०३५ माघ ५ गते औपचारिक उद्घाटन गरिएको थियो । पूर्ण क्षमतामा सञ्चालन हुँदा उद्योगमा करिब एक हजार २०० जनाले प्रत्यक्ष रोजगारी पाएका थिए ।

राजनीतिक हस्तक्षेप, बारम्बारका बन्द–हडताल, व्यवस्थापकीय कमजोरी, पुरानो प्रविधि र बढ्दो आर्थिक घाटाका कारण उद्योग सङ्कटमा पर्दै गएको थियो । अन्ततः विसं २०५७ देखि उद्योग पूर्ण रूपमा बन्द रह्यो । अहिले पुराना लुमबाट कपडा निस्कन थालेसँगै उद्योग पुनर्जीवनको आशा पलाएको छ ।

पूर्ण क्षमतामा सञ्चालन गर्न अझै लगानी, कच्चापदार्थ, बजार र दिगो व्यवस्थापनको आवश्यकता छ । प्राविधिक भट्टराईले भनेजस्तै पार्टपुर्जा फेरेर मेसिन फेरि चल्न सक्छन् । अब उद्योगको भविष्य सरकारले देखाउने निरन्तरता र व्यवस्थापकीय क्षमतामा निर्भर हुनेछ ।

प्रकाशित मिति:
थप विशेष