नेभिगेशन

टप एण्ड टी–२० शृंखलामा नेपालको लगातार दोस्रो जित

काठमाण्ठौ – कप्तान कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा नेपाल ‘ए’ले अस्ट्रेलियामा चलिरहेको टप एन्ड टी–२० शृंखलामा लगातार दोस्रो जित दर्ता गरेको छ । नेपालले हिजो अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसीटी)लाई ४ विकेटले पराजित गर्‍याे ।

डार्विनको मरारा क्रिकेट मैदानमा एसीटीले दिएको १४१ रनको लक्ष्य नेपालले ४ बल बाँकी रहँदा ६ विकेट गुमाएर पूरा ग¥यो । नेपालका कुशलले सर्वाधिक ६१ रनको योगदान गरे । उनले ४७ बलमा पाँच चौका र एक छक्का प्रहार गरे ।

यसैगरी, पवन सराफले अविजित २९, मयन यादवले २१ र लोकेश बमले १२ रन बनाए । एसीटीका जेक केओघले तीन र जित मेहताले दुई विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको एसीटीले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १४० रनको योगफल तयार पारेको थियो ।

एसीटीका डिलन हन्टरले ४४, अंश तिवारी र कप्तान निक ब्रोएसले १९–१९ तथा जेक स्मिथले १४ रन बनाए । नेपालका भुर्तेलले तीन, युवराज खत्रीले दुई तथा साहब आलम, पवन सराफ र विपिन खत्रीले एक–एक विकेट लिए  जितसँगै नेपालले चार खेलमा चार अंक जोडेको छ । चारै खेलमा पराजित एसीटी अंकविहीन छ ।

यसअघि नर्दन टेरिटोरी स्ट्राइकसँग ८ तथा बंगलादेश हाइ प्रफर्मेन्स टिमसँग ९ विकेटको फराकिलो हार व्यहोरेको नेपालले होबर्ट हुरिक्यान्स एकेडेमीलाई ३९ रनले पराजित गरेको थियो । नेपालले आज किंग्समेन एकेडेमीसँग खेल्दैछ ।

प्रकाशित मिति:
थप खेलकुद