काठमाण्डौ - अकल्पनीय प्राकृतिक विपद्को मुखबाट मुस्किलले ज्यान जोगाएर काठमाण्डौ फर्किएका चालक अभिषेक खड्कालाई अहिले पनि त्यो कहालीलाग्दो क्षण सम्झँदा झसङ्ग हुन्छ ।
रामेछाप घर भई लामो समयदेखि २१६ मेगावाटको अपर त्रिशूली जलविद्युत् आयोजनामा चालकका रूपमा कार्यरत अभिषेकका लागि रसुवाको ड्याम साइडमा बिताएका ७ वर्षहरू सामान्य नै थिए । ७ वर्षदेखि हाइड्रोपावरका गाडी हाँक्दै आउनु भएका अभिषेकले लिखु जलविद्युत् आयोजनाको काम सकेर अपर त्रिशूलीमा पाइला टेक्नु भएको थियो ।
बाढी आउनुभन्दा ठीक एक मिनेट अघिमात्रै ड्याम साइडमा खतराको साइरन बज्यो । ‘साइरन बज्दा पनि त्यहाँ कार्यरत कसैले यति ठूलो विनाशकारी बाढी आउला भनेर कल्पनासम्म गरेनन् । सोचेको भए सायद सबै पूर्वतयारीमा जुट्थे वा सुरक्षित ठाउँतर्फ भागिसक्थे ।’ अभिषेकले भन्नुभयो । साइरन बजेपछिको १० देखि २० सेकेन्ड त अभिषेक आफैँले के हुँदैछ भनेर हेरिरहनुभयो र मोबाइलमा दृश्य कैद गर्ने प्रयास गर्नु भयो । तर, त्यसपछिको केही सेकेन्डमै खोलामा आएको ठूलो छालले भीषण रूप लियो । धेरैले यसअघि बिस्तारै बाढी बढेको अनुमान गरे पनि अभिषेकका अनुसार बाढी एकै पटक उर्लिएर आयो । त्यति बेला उहाँसँगै २५ देखि ३० जना मानिसहरू क्याम्प परिसरमै थिए ।
अचानक उर्लिँदै आएको बाढीको विशाल छाल र भित्तामा ठोक्किएर बनेको पानीका फोहोरा देख्नासाथ ज्यान जोगाउनुको अर्को कुनै विकल्प रहेन । जो–जो मानिसहरू हतार–हतार छेउको ठाडो भिर चढ्न सफल भए, उनीहरूले मात्र नयाँ जीवन पाए । भिर चढ्न नसक्ने साथीहरू भने आँखा अगाडि नै बाढीको भेलमा बगे । अभिषेकका अनुसार मात्र पाँच सेकेन्डको ढिलाइ भएको भए पनि उहाँ आज जीवित हुने सम्भावना थिएन ।
उहाँसँगै क्याम्पमा रहेका तीन जना चालक, मेसका कुक र हेल्परसहित दुई जना, छुट्टीमा बसेका एक जना कामदार र दुई जना हाउसकिपिङका कर्मचारी गरी जम्मा नौ जना भिर चढेर ज्यान बचाउन सफल भए । पावर चाइना, दुसान र एन्ड्रिज हाइड्रोका क्याम्पहरू रहेको त्यो क्षेत्रमा दुई वटा कम्पनीका संरचना बाढीले पूर्ण रूपमा बगायो । तर, अभिषेक कार्यरत एन्ड्रिज हाइड्रोको क्याम्प भने ड्यामभन्दा झण्डै तीन किलोमिटर अगाडि अलि उचाइमा रहेकाले बाढीको पहुँचबाट जोगिन पुग्यो ।
मृत्युको मुखबाट उम्किएपछि शुरु भयो अर्को कठिन यात्रा । जीउमा एउटा टिसर्ट र भित्री लुगाबाहेक केही नभएका उहाँ र उहाँका साथीहरू खाली खुट्टा हिँड्दै भिरै भिरको बाटो पैदल हिँडेर धुन्चेतर्फ लाग्नु भयो । धुन्चे पुगेपछि क्याम्प सुरक्षित रहेको खबर पाएपछि फेरि फर्किए र लत्ताकपडा तथा आवश्यक सामान बोकेर पुनः धुन्चे फर्किनुभयो ।
मौसम खराब भएका कारण तुरुन्तै हवाइ उद्धार सम्भव भएन । उहाँहरूले एक दिन धुन्चेमै बिताउनु भयो । दोस्रो दिन नेपाली सेनाको ब्यारेकमा शरण लिनुभयो । सेनाले उहाँहरूलाई खाना र बस्ने व्यवस्था मिलाइदियो । तेस्रो दिन सेनाको हेलिकप्टरमार्फत उहाँहरूलाई धुन्चेबाट विदुरसम्म ल्याइयो र त्यहाँबाट कम्पनीले रिजर्भ गरेको बस चढेर उहाँहरू सुरक्षित रूपमा काठमाण्डौ आइपुग्नु भयो ।
अहिले रसुवागढी, स्याफ्रुबेँसी, मैलुङ, बेत्रावती र त्रिशूली नदी तटीय क्षेत्रमा तीव्र रूपमा उद्धार तथा खोज कार्य जारी छ । घटना भएको चार दिन भइसकेकाले बाढीमा बेपत्ता भएका साथीहरू जीवितै भेटिने सम्भावना भने अत्यन्तै न्यून रहेको अभिषेक बताउनुहुन्छ । बाढीमा परेर अभिषेकले आफ्नै काकालाई समेत गुमाउनु भयो ।
यदि बाढी आउनुभन्दा आधा घण्टा अगाडि मात्रै सही सूचना वा चेतावनी पाउन सकिएको भए त्यहाँ कसैको पनि ज्यान जाने थिएन भन्ने उहाँको ठहर छ । विपद्को त्यो त्रासदीपूर्ण क्षण अनि धनजनको क्षतिले सिर्जना गरेको डर बोकेर अभिषेक अहिले भक्तपुरको आफ्नो डेरामा सुरक्षित त हुनुहुन्छ, तर विपद्को त्यो भयानक दृश्य र आफन्त गुमाउनुपरेको पीडा उहाँको स्मरणमा अझै पनि झलझली आइरहन्छ ।