काठमाण्डाै – एउटा हाफपेन्ट, एउटा टी–शर्ट र खाली खुट्टा । यस्तै अवस्थामा रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ का स्थानीयवासीले बुधवारको बाढीबाट भाग्दै ज्यान जोगाए । घरबारी र सरसामानसँगै धेरैका आफन्त बाढीमा हराए । बाढीबाट जोगिएका सबैको अहिले एउटै आश्रयस्थल बनेको छ नामग्याल चोकको यल्लो गुम्बा जहाँ अहिले २०० भन्दा धेरै पीडित एकसाथ बसिरहेका छन् ।
विपद्मा परेर वडाभित्रै १४५ जना बेपत्ता छन् । ६–७ जना अझै उद्धारको पर्खाइमा छन् । यो सम्पूर्ण उद्धार र व्यवस्थापन कार्य स्थानीयवासी र नेपाली सेनाको सहयोगमा नै भइरहेको छ । अन्य कुनै टोली वा सामग्री आइपुगेको छैन ।
अहिले स्थानीयस्तरमै एउटा समिति गठन गरेर व्यवस्थापन गर्ने प्रयास भइरहेको छ । तर यो प्रयास सजिलो छैन । बाहिरबाट विभिन्न सङ्घ–संस्थाहरूले पठाएको राहत सामग्रीले मात्र गुजारा चलिरहेको छ । केन्द्र सरकारबाट अझै कुनै सहयोग आएको छैन । ‘ज्यान गुमाएकाहरूको पूर्ण विवरण तयार पारेर पठाउनू’ भन्ने पालिका र प्रशासनको लगातार अनुरोध छ । पुरुष, महिला र बालबालिका छुट्याएर जिल्ला प्रशासनमा पठाउने काम पनि हुन सकेको छैन ।
गुम्बामा रहेकाले अहिलेलाई बिहान चिया–बिस्कुट, दाल–भात र तरकारी खाने हो । तर यो व्यवस्था धेरै दिन धान्ने अवस्थामा छैन । अहिलेसम्म आएको १५० बोरा जति खाद्यसामग्रीले धेरैमा ७–८ दिनसम्म मात्र धान्न सक्छ ।
खानाभन्दा पनि बढी टड्कारो आवश्यकता छ लत्ताकपडाको । विपद्का बेलामा घरबाट भाग्दा धेरैले न लुगा लिन पाए, न त खुट्टामा जुत्ता–चप्पल नै ।
यस विपद्ले सबैभन्दा गहिरो चोट पुर्याएको भने बालबालिकालाई हो । वडाभित्रै अभिभावक गुमाएका ५०–६० जना बालबालिका छन् जो अहिले अरूसँगै सामूहिक रूपमा बसिरहेका छन् । उनीहरूको स्याहारसुसार अहिले स्थानीय समुदायले नै गरिरहेको छ । तर चुनौती यहीँ सकिँदैन — यी बालबालिकाको पढाइको भविष्यसमेत अन्योलमा परेको छ । यहाँका विद्यार्थीहरूले महिनाको ४३ हजार रुपैयाँ शुल्क तिर्नुपर्ने बाध्यता छ तर विपद्पछि सबैको आर्थिक अवस्था शून्य स्तरमा पुगिसकेको छ । कोठाभाडा मात्रै महिनाको २०–२५ हजार पर्ने भएकाले त्यो व्यहोर्ने क्षमतासमेत कसैसँग बाँकी छैन । यसै सन्दर्भमा बालबालिकालाई कसरी पढाइ निरन्तरता दिने भन्नेबारे स्थानीय तहमा छलफल भइरहेको छ ।
स्वास्थ्य सेवाको अवस्था पनि सन्तोषजनक छैन । गाउँपालिकाबाट शुरूमा केही सहयोग आएको भए पनि थप स्वास्थ्यकर्मीको आवश्यकता छ । पालिकाले एक जना स्वास्थ्यकर्मी पठाउने भने पनि अहिलेसम्म कोही आइपुगेका छैनन् ।
वडाको नेतृत्व संरचना नै यस विपद्बाट गम्भीर रूपमा प्रभावित भएको छ । वडाका अध्यक्ष र दुई जना सदस्यको अवस्था अत्तोपत्तो छैन, जबकि दलित समुदायको प्रतिनिधित्व गर्ने टोलीका चारै सदस्यको ज्यान गइरकेको छ । अहिले कार्यपालिका सदस्य र एक जना महिला सदस्य गरी जम्मा दुई जना मात्र वडाको नेतृत्वमा बाँकी रहेका छन् ।
तत्कालका लागि खाद्यसामग्री र लत्ताकपडा नै सबैभन्दा जरुरी आवश्यकता हो । दीर्घकालीन रूपमा हेर्दा अहिले बसिरहेको यल्लो गुम्बामा धेरै समयसम्म बस्न सकिँदैन । यति धेरै मानिस एकै ठाउँमा रहँदा अक्सिजनकै अभावसमेत हुने अवस्था आइसकेको छ ।
यो सामान्य मौसमले उद्धार र राहत कार्यलाई केही सहज बनाए पनि पीडितको आश्रय, खाना, लुगा, स्वास्थ्य र बालबालिकाको भविष्य — यी सबै प्रश्नको जवाफ भने अझै अधुरै छ । गोसाइँकुण्ड गाउँपालिका–२ का बासिन्दा अहिले पनि माथिबाट आउने सहयोगको आशमा यल्लो गुम्बामा दिन गन्दै बसिरहेका छन् ।
(गोसाइँकुण्ड गाउँपालिका–२ का कार्यपालिका सदस्य पेमा दोर्जे घलेसँग महेश ज्ञवालीले गरेको कुराकानीमा आधारित ।)