काठमाण्डौ - रसुवाको गोसाइँकुण्ड गाउँपालिकामा बाढीले दुई वटा वडालाई बढी क्षति गरेको छ । बाँकी वडाहरूमा मानवीय क्षति भए पनि भौतिक संरचना जोगिएका छन् ।
भौतिक संरचनाको क्षति हेर्दा वडा नम्बर २ मा हालसम्म झण्डै ७० वटा संरचना क्षतिग्रस्त भएका छन् भने वडा नम्बर ५ मा झण्डै १३० देखि १४० को हाराहारीमा पुगेको छ । दुई वटा वडामा मात्रै मानवीय र भौतिक दुवै क्षति भयो, अरू वडामा चाहिँ मानवीय क्षतिमात्रै हो ।
गोसाइँकुण्ड गाउँपालिकामा मात्रै हालसम्म ५४५ जना बेपत्ता भएका छन् । घाइतेको अभिलेख अझै तयार भइसकेको छैन, तर घाइतेको सङ्ख्या खासै धेरै छैन । जो भाग्न सके सबै सकुशल नै हुनुहुन्छ ।
अभिभावकविहीन बालबालिका र विस्थापित परिवारसम्बन्धी विस्तृत तथ्याङ्क तयार हुँदैछ । पीडित परिवारसँग यो अवस्थामै धेरै प्रश्न सोध्नुपर्दा तिनको मनोदशामा थप चोट पुग्ने भएकाले तथ्यांक सङ्कलन काम सहज छैन । यद्यपि यो प्रक्रिया लगभग पूरा भइसकेको र आउँदो शुक्रबार साँझसम्म अन्तिम विवरण प्राप्त हुनेछ ।
प्रभावितहरूको व्यवस्थापनमा वडा नम्बर ५ अन्तर्गत ठूलो स्याब्रू, ब्राबल, सानो भार्कु र ठूलो भार्कुका बासिन्दाहरू आफ्नै घरमै बसिरहेका छन् । त्यहाँ छुट्टै होल्डिङ सेन्टर बनाइएको छैन । त्यहाँ मानवीय क्षति मात्र भएको हो, भौतिक संरचना बचेका छन् । अर्कोतर्फ वडा नम्बर ३ को लिङलिङमा भने होल्डिङ सेन्टर सञ्चालनमा छ, जहाँ झण्डै २७ जना बसिरहेका छन् ।
यसै गरी स्याब्रू बजारमाथि रहेको कोमिन स्कुलमा पनि होल्डिङ सेन्टर बनाइएको छ, जहाँ शिक्षक र स्थानीय बासीहरू सबै मिलेर बसिरहेका छन् र त्यहीँबाट स्वास्थ्य सेवा समेत उपलब्ध गराइँदैछ ।
गाउँपालिकामा राहतको कुनै ठूलो कमी छैन । समस्या भनेकै बजार क्षेत्रमा दैनिक किनबेच गर्नेहरूका लागि सामानको अभावजस्तो देखिनु मात्र हो । गाउँघरतिर भने १५देखि २० दिन, कहिलेकाहीँ एक महिनासम्म पुग्ने स्टक छँदैछ । बरु राहत सामग्री प्रशस्त जम्मा भइसकेकाले अब सर्वदलीय बैठक बसेर घरधुरीगत रूपमा त्यसलाई कसरी वितरण गर्ने भन्ने व्यवस्थापनमा काम भइरहेको छ र यो प्रक्रिया झण्डै १० दिनभित्र टुङ्गिनेछ ।
तत्कालको सबैभन्दा ठूलो चुनौती भनेको विद्युत् र सञ्चार सेवाको अभाव हो । यसका लागि साना सोलार पहिले नै पठाइसकिएको र अब ठूला सोलार पनि आइरहेका छन्, तर प्राविधिक जनशक्तिको अभावले काम अलि ढिलो भइरहेको छ । प्राविधिकहरू भने त्यही दिन आउने कुरा भएको छ । बाटो पूर्ण रूपमा क्षतिग्रस्त भएकाले हवाई मार्ग नै एकमात्र यातायातको माध्यम बनेको छ ।
तर दीर्घकालीन पुनर्स्थापना एकदमै चुनौतीपूर्ण छ । विशेष गरी वडा नम्बर २ र ५ को तल्लो क्षेत्रमा बासिन्दाहरूसँग अब केही नै बाँकी छैन । पीडित परिवारहरू हाल दुई वटा गुम्बामा शरण लिइरहेका छन् ।
पुरानै ठाउँमा पुनर्स्थापनाको सम्भावना छैन, किनभने त्यो क्षेत्र अहिले पूरै बगरमा परिणत भइसकेको छ । वैकल्पिक ठाउँको खोजीमा पनि उत्तिकै अवरोध छ । गाउँपालिकाको भौगोलिक बनावट नै यस्तो भएकाले एकीकृत बस्ती बसाल्न मिल्ने उपयुक्त ठाउँ उपलब्ध नै छैन । यस कारण अन्तिम निर्णय स्थानीय र केन्द्रीय सरकारबीचको सहमतिमा भर पर्छ ।
व्यवस्थापन गर्नुपर्ने घरधुरीको सङ्ख्या लगभग ३०० देखि साढे ३०० सम्म पुग्छ, जुन कुनै सानो काम होइन । पूर्ण विवरण आउँदो शुक्रबारसम्ममा तयार हुने र त्यसपछि थप विस्तृत जानकारी सार्वजनिक हुनेछ ।
(गोसाँइकुण्ड गाउँपालिकाका सूचना अधिकारी अर्जुन डोटेलसँग महेश ज्ञवालीले गरेको कुराकानीमा आधारित ।)