नेभिगेशन
बिहीबार, असोज १, २०८३

बेनी–जोमसोम सडकका पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नति तीव्र

काठमाण्डौ – चीन र भारत जोड्ने कालीगण्डकी करिडोर अन्तर्गत बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्डमा पहिरो प्रभावित क्षेत्रमा सडक स्तरोन्नतिको काम तीव्र पारिएको छ ।

बेनी–जोमसोम–कोरला सडक योजना कार्यालयले म्याग्दीको गलेश्वरदेखि मुस्ताङको लेते–सेतोखोला क्षेत्रसम्म यसअघि ठेक्काबाट हटाइएका पहिरो प्रभावित क्षेत्रमा बाँकी सडक स्तरोन्नतिको काम अघि बढाएको हो ।

विभिन्न प्याकेजमा ठेक्का लगाएर पहिरो नियन्त्रण, नदी कटान रोकथाम, टेवा पर्खाल निर्माण तथा सडक ढलानको काम भइरहेको आयोजना प्रमुख तेजस्वी शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार बर्खायाम र कोरला नाकातर्फ आवतजावत गर्ने सवारीसाधनको चापका बीच पनि निर्माणको कामलाई निरन्तरता दिइएको छ । यसअघि ठेक्काबाट हटाइएको पहिरो प्रभावित क्षेत्रमा अहिले काम भइरहेको र बाँकी जोखिमयुक्त क्षेत्रमा पनि ठेक्का लगाउने तयारी भइरहेको उहाँले बताउनुभयो ।

आयोजनाका सूचना अधिकारी इञ्जिनियर बाबुसाहेवकुमार बैठाका अनुसार राहुघाट, घुमाउनेताल, चमेरे र बैसरी क्षेत्रमा एक किलोमिटर दुई सय मिटर सडक ढलान तथा विभिन्न स्थानमा दुई हजार तीन सय घनमिटर ग्यावियन, प्लम र कङ्क्रिट पर्खाल निर्माणका लागि सात करोड ३० लाख रुपैयाँमा शङ्करश्री–क्रियटिभ जेभीले ठेक्का पाएको छ ।

गएको वैशाखमा सम्झौता गरेको उक्त कम्पनीले बर्खायाममा पनि निर्माणलाई निरन्तरता दिइरहेको छ । त्यस्तै, आठ करोड रुपैयाँमा ठेक्का सम्झौता गरेको कालीमाता–थापाकाजी–रसुवा जेभीले कुनौटा, बेगखोला, भिरकाटे र रातोपानी क्षेत्रमा टेवा पर्खाल, कल्भर्ट निर्माण तथा सडक ढलानको काम गरिरहेको छ ।

कमजोर भू–बनोटका कारण कालीगण्डकी करिडोरको म्याग्दी खण्डमा बर्खायाममा बाढीपहिरोका कारण पटक–पटक यातायात अवरुद्ध हुने समस्या छ । यही कारण सडक स्तरोन्नति र पहिरो नियन्त्रणको कामलाई प्राथमिकतामा राखिएको आयोजना प्रमुख शर्माले बताउनुभएको छ ।

प्रकाशित मिति:
थप समाज