नेभिगेशन
शनिबार, असोज ३, २०८३

बाढीले भत्काएको कास्कीको बिरेठाँटी सडक मर्मतपछि गाडी चल्न थाले

काठमाण्डौ – कास्कीको अन्नपूर्ण गाउँपालिका–८ बिरेठाँटीमा मोदी खोलाले भत्काएको सडक मर्मत गरेपछि गाडी चल्न थालेका छन् ।

गएको साउन २८ गतेको बाढीले बिरेठाँटीमा १०० मिटर पक्की सडक बगाउँदा अन्नपूर्ण गाउँपालिका–८, ९, १० र ११ (साविक दाङसिङ र घान्द्रुक गाविस) मुख्य राजमार्ग तथा गाउँपालिका केन्द्रसँग सडक सम्पर्क विच्छेद थियो ।

ती वडालाई जोड्ने मुख्य नाकाका रूपमा रहेको बिरेठाँटीको सडक मर्मत गरेपछि हिजोदेखि आवतजावतमा सहज भएको छ ।

गाउँपालिका, गण्डकी प्रदेश सरकार, नेपाली सेना, जिल्ला प्रशासन कार्यालय कास्की, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) तथा उपल्लो मोदीखोलामा सञ्चालित जलविद्युत् आयोजनाको समन्वय र सहकार्यमा गएको भदौ २ गतेदेखि मर्मत थालिएको र हिजोदेखि सडकमा यातायात सञ्चालन भएको गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले बताउनुभयो । उहाँका अनुसार बिरेठाँटीमा मोदीखोलाको बहाव डाइभर्सन गरी ग्याबिन जाली भर्ने र ब्याकफिलिङ गर्ने काम गरिएको छ ।

बिरेठाँटीमा सडक मर्मत भए पनि अझै घान्द्रुकसँग भने सिधा सम्पर्क स्थापित भइसकेको छैन । घान्द्रुक बसपार्कसम्म पुग्ने सडकको सिउँरेमा सडक मर्मतको काम भइरहेको छ ।

प्रकाशित मिति:
थप समाज