नेभिगेशन
सोमबार, असोज ५, २०८३

एमालेमा साझा प्रस्ताव तयार

काठमाण्डाै – नेकपा एमालेले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन ग्रहण गरेको छ । हिजो पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले कार्यदलको प्रतिवेदन ग्रहण गरेको हो ।

प्रतिवेदनबाट पार्टी नेतृत्व पुनर्गठनसम्बन्धी विषय हटाइएको छ । पार्टी महासचिव शङ्कर पोखरेलले तयार गरेको ६५ पृष्ठको प्रतिवेदनमा अध्यक्ष केपी शर्मा ओलीले असन्तुष्टि जनाएपछि कार्यदल संयोजक रामबहादुर थापा बादललाई ४५ पृष्ठको अर्को प्रतिवेदन लेख्न लगाइएको थियो । त्यो प्रतिवेदन पनि चित्त नबुझेपछि अध्यक्ष ओलीले नेता प्रदीप ज्ञवालीलाई छुट्टै प्रतिवेदन लेख्न लगाउनुभएको थियो ।

तीन वटै प्रतिवेदनलाई मिलाएर सहमतिका आधारमा प्रतिवेदन तयार गरिएको हो । चुनाव समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले प्रतिवेदनले पार्टीभित्र उठेका विभिन्न विषयलाई सम्बन्धित वैधानिक निकायबाट टुङ्गो लगाउने बाटो प्रस्ताव गरेको छ । सा, कार्यदलले प्राप्त सुझाव र उठेका विषयको विधानसम्मत समाधान खोज्न छुट्टै कार्यदल गठन गर्नसमेत प्रस्ताव गरेको छ ।

केन्द्रीय सचिवालय हुँदै केन्द्रीय कमिटी बैठकमा प्रस्तुत हुने कार्यदलको एकीकृत प्रतिवेदनले उठेका सवाल र सुझावमध्ये केही विषय राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकबाट तथा केही विषय विधान महाधिवेशन र केही तत्कालै केन्द्रीय कमिटी बैठकबाटै निर्णय गर्न सकिने उल्लेख गरेको छ । यसका लागि विषय पहिचानसहित प्रस्ताव बनाउने तयारीका लागि कार्यदल बनाउन सुझाव दिएको छ ।

आजदेखि बस्ने केन्द्रीय कमिटी बैठकमा यसबारे विशेष छलफल हुने र दुवै पक्षमा रहेका नेताहरूले आफ्नो धारणा राख्ने एमालेले जनाएको छ ।

प्रकाशित मिति:
थप राजनीति