नेभिगेशन
सोमबार, असोज ५, २०८३

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक शुरु, नौ वटा कार्यसूची तय

काठमाण्डौ – नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आजदेखि ललितपुरमा शुरु भएको छ ।

पर्सिसम्म चल्ने बैठकका लागि नौ वटा मुख्य कार्यसूची तय गरिएका छन् । गएको फागुन २१ गतेको प्रतिनिधिसभा चुनावपछि पहिलो पटक बसेको यस बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन प्रस्तुत हुनेछ ।

यस्तै, केन्द्रीय कमिटीमा मनोनयन, पोलिटब्युरो, स्थायी कमिटी, विभागहरू, सल्लाहकार परिषद् र अनुशासन आयोग गठन लगायतका समसामयिक विषयमा छलफल हुनेछ । बैठकमा बोल्न चाहने सदस्यका लागि ३ मिनेटको समय तोकिएको छ भने समय अभाव भए लिखित सुझाव दिन सकिनेछ ।

यसैबीच, बैठकलाई मर्यादित र अनुशासित बनाउन अध्यक्ष ओलीले कडा निर्देशन दिनुभएको छ । बैठक स्थलमा मोबाइल चलाउन, भिडियो खिच्न वा सामाजिक सञ्जालमा लाइभ गर्न पूर्ण रूपमा रोक लगाइएको छ ।

भोलिदेखि बैठक स्थलमा मोबाइल फोन नै नल्याउन निर्देशन दिइएको छ । पार्टीभित्र अनुशासन कमजोर बनेको भन्दै अध्यक्ष ओलीले सामाजिक सञ्जालमा जथाभाबी टिप्पणी नगर्न सचेत गराउनुभयो ।

बाहिरबाट आक्रमण भइरहेका बेला पार्टीभित्रैबाट असन्तुष्टि पोखेर विरोधीलाई खेल्ने अवसर नदिन पनि उहाँले नेता–कार्यकर्तालाई कडा निर्देशन दिनुभएको छ । 

प्रकाशित मिति:
थप राजनीति