नेभिगेशन
बिहीबार, असोज ८, २०८३

राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन प्रधानमन्त्री शाह अमेरिका प्रस्थान

काठमाण्डौ – प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै हिजो बेलुका अमेरिकाको न्यूयोर्क प्रस्थान गर्नुभएको छ ।

उहाँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको विमानमार्फत दोहा हुँदै त्यसतर्फ प्रस्थान गर्नुभएको हो । प्रधानमन्त्री शाहलाई कतारको दोहामा रहेको हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा कतारका लागि नेपालका कार्यवाहक राजदूत कुमार राई र दूतावासका वरिष्ठ अधिकारीले स्वागत गर्नुभयो ।

प्रधानमन्त्री शाह दोहाबाट न्यूयोर्कतर्फ प्रस्थान गर्नुभएको छ । उहाँलाई न्यूयोर्कको जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत शरदराज अरनलगायतका अधिकारीहरूले स्वागत गर्नुहुनेछ ।  आजै प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगमा पुग्नुहुनेछ ।

त्यहाँ उहाँलाई भ्रमणका विषयमा परराष्ट्र सचिव, संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत र न्यूयोर्कमा रहेको नेपालका महावाणिज्यदूतले ब्रिफिङ गर्नुहुनेछ । त्यसलगत्तै प्रधानमन्त्री शाह उहाँको सम्मानमा नेपालका लागि स्थायी प्रतिनिधिहरूले आयोजना गर्ने समारोहमा सहभागी हुने कार्यक्रम छ । 

भोलि प्रधानमन्त्री शाह र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता हुनेछ । त्यसलगत्तै प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसङ्घको महासभालाई नेपालको तर्फबाट सम्बोधन गर्नुहुनेछ । पर्सि प्रधानमन्त्री शाह न्यूयोर्कबाट दोहाका लागि प्रस्थान हुनुहुनेछ । प्रधानमन्त्री शाह यही असोज १० गते स्वदेश फर्कने तालिका रहेको  प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिनुभयो ।

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान गर्ने क्रममा पहिलेभन्दा फरक माहोल देखिएको छ । यसअघिका प्रधानमन्त्रीहरु विदेश जाँदा देखिने तामझाम हिजो देखिएन । बिदाइको क्रममा विमानस्थलमा कुनै औपचारिक कार्यक्रम भएन । सेनाले सलामी दिने परम्परा पनि तोडियो ।

गृहमन्त्री सुधन गुरुङ र पर्यटन मन्त्री खडकराज पौडेल आफ्नै हिसाबले प्रधानमन्त्रीलाई बिदाइ गर्न पुग्नुभएको थियो । प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसङ्घको महासभालाई नेपालको तर्फबाट सम्बोधन गर्नुहुनेछ, जसमा जलवायु परिवर्तनबाट नेपालले भोगेका विषय उठान हुनेछ ।

प्रकाशित मिति:
थप राजनीति