नेभिगेशन
बिहीबार, असोज ८, २०८३

कान्ति राजमार्ग र भैँसे–भीमफेदी–कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

काठमाण्डौ - वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले कान्ति राजमार्ग र भैँसे–भीमफेदी–देउराली–कुलेखानी सडक खण्डमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाएको छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत सन्तोष सुवेदीले जल तथा मौसम विज्ञान विभागको विशेष मौसमी बुलेटिनअनुसार असोज ९ गतेदेखि ११ गतेसम्म हावाहुरीसहित धेरै ठूलो वर्षाको सम्भावना रहेकाले ती सडकमा गाडी सञ्चालनको समय निर्धारण गरिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार असोज ९ गतेदेखि अर्को सूचना जारी नभएसम्म कान्ति राजमार्गमा बिहान ५ बजेदेखि बेलुका ५ बजेसम्म मात्र चौघडाबाट काठमाण्डौबाट गाडी चल्न दिइनेछ । त्यस्तै, भैँसे–भीमफेदी–देउराली–कुलेखानी सडक खण्डमा बिहान ५ बजेदेखि बेलुका ५ बजेसम्म हेटौँडाको चौकी टोलबाट काठमाडौँतर्फ तथा फाखेलको हनुमाने र सिस्नेरीको रामचन्द्र भञ्ज्याङबाट हेटौँडातर्फ सवारी प्रस्थान गर्न दिइने उहाँले बताउनुभयो ।

सुवेदीका अनुसार कान्ति राजमार्ग र भैँसे–भीमफेदी–देउराली–कुलेखानी सडक खण्डमा बेलुका ७ बजेपछि रातिको समयमा गाडी आवागमन पूर्ण रूपमा बन्द गरिनेछ । 

प्रकाशित मिति:
थप समाज