नेभिगेशन
शुक्रबार, असोज ९, २०८३

त्रिभुवन राजपथमा पालैपालो गाडी सञ्चालन : यस्तो छ समय तालिका

काठमाण्डाै – अविरल वर्षाका कारण पृथ्वी राजमार्ग, बीपी र कान्ति राजमार्ग अवरुद्ध भएपछि हेटौँडा–काठमाण्डौ आवतजावतका लागि त्रिभुवन राजपथमा समय तोकेर पालैपालो गाडी सञ्चालन गर्ने गरी व्यवस्थापन मिलाइएको छ ।

त्रिभुवन राजपथमा गाडीको चाप अत्यधिक भएसँगै जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौँडाबाट काठमाण्डौ र काठमाण्डौबाट हेटौँडा छुट्ने गाडीलाई छुट्टाछुट्टै समय निर्धारण गरेको प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार आज काठमाण्डौबाट हेटौँडातर्फ सिमभञ्ज्याङ चौकीबाट बेलुका ७ बजेदेखि राति ११ बजेसम्म मात्र गाडी चल्नेछन् । भोलि शनिवार हेटौँडाबाट काठमाण्डौतर्फ बिहान ४ बजेदेखि ८ बजेसम्म तथा रातमा १० बजेदेखि पर्सि आइतवार बिहान २ बजेसम्म गाडी सञ्चालन गरिनेछ । त्यस्तै काठमाण्डाैबाट हेटौँडातर्फ भने भोलि दिउँसो १ बजेदेखि बेलुका ५ बजेसम्म र पर्सि बिहान ७ बजेदेखि ११ बजेसम्म गाडी सञ्चालन गरिनेछ ।

प्रशासनले अर्को व्यवस्था नभएसम्म इन्धन तथा एलपी ग्यास बोकेका बाहेक १० चक्केभन्दा लामा र १५ टनभन्दा धेरै भार भएका मालवाहक गाडीलाई त्रिभुवन राजपथमा सञ्चालन गर्न रोक लगाएको छ । यात्रुवाहक बस भने ११ मिटर लम्बाइसम्मका मात्र सञ्चालन गर्न पाइने व्यवस्था गरिएको छ ।

तोकिएको समय तालिकाअनुसार मात्रै यात्रा गर्न चालक, यातायात व्यवसायी तथा यात्रुलाई आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले जानकारी दिनुभयो ।

1-1790331916.jpeg

प्रकाशित मिति:
थप समाज