काठमाण्डौ – नारायणी नदीले सतर्कता तह पार गरेको छ ।
नारायणी बेसिन कार्यालय चितवनका अनुसार हाल पानीको सतह आठ दशमलव ३० मिटर पुगेको छ ।
कार्यालयका प्रमुख सुमित अधिकारीले नदीको बहाव बढ्दै गएकोले तटका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको बताउनुभयो । उहाँका अनुसार नारायणी नदीमा पानीको बहाव सात दशमलव ३० मिटर सर्तकर्ता तह मानिन्छ ।
बहावले नौ मिटर पार गर्दा खतरा तह पुग्ने जनाउँदै प्रमुख अधिकारीले अब फेरि वर्षात भएमा पानीले जोखिम तह पार गर्ने सम्भावना रहेकाले सतर्क रहन सबैमा आग्रह गरिएको उल्लेख गर्नुभयो । नदीले सतर्कता तह पार गरे पनि अहिलेसम्म नदी किनारका बस्तीमा पानी पसिसकेको छैन । उहाँले भन्नुभयो, “अब फेरि वर्षात भएमा ठूलो बाढीको सम्भावना छ ।”
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले अहिले नदी तटमा बसोबास गर्नेलाई सुरक्षित ठाउँमा बस्नका लागि आग्रह गरिएको बताउनुभयो । उहाँका अनुसार तत्काल उद्धारका लागि तयारी अवस्थामा सुरक्षा निकाय रहेका भन्दै अहिले सूचना प्रवाह गर्ने, पूर्वतयारीका काम भइरहेका उहाँले जानकारी दिनुभयो ।
त्यस्तै, बौदिकाली र बुलिङटार गाउँपालिका कालीगण्डकी नदीको बाढी तथा पहिराको जोखिममा रहेका भन्दै प्रमुख जिल्ला अधिकारी उपाध्यायले प्रभावितलाई सुरक्षित ठाउँमा राख्ने काम भएको बताउनुभयो । बाढी र पहिराबाट प्रभावितको उद्धार तथा राहतका लागि जिल्लाका सुरक्षा निकायलाई ‘हाई अलर्ट’मा राखिएको उपाध्यायले जानकारी दिनुभयो ।
'हामीले जिल्लामा विपद्का घटनाबाट हुने क्षति न्यूनीकरणका सबै प्रयास गरेका छौँ', उहाँले भन्नुभयो, 'विपद् आइहालेमा उद्धार र राहतका लागि सुरक्षा निकायलाई सतर्क अवस्थामा राखेका छौँ ।'
नवलपुरको त्रिवेणीस्थित नारायणी नदीमा निर्माण गरिएको गण्डक ब्यारेजका सबै ढोका खुला गरिएको छ । नारायणी नदीमा पानीको बहाव चेतावनीको तह पार गरेपछि ब्यारेजका ३६ वटै ढोका खुला गरिएको हो । इलाका प्रहरी कार्यालय त्रिवेणीका प्रमुख प्रहरी वरिष्ठ नायब निरीक्षक सुरेश पालले गण्डक ब्यारेज वाल्मीकि नगरलाई उद्धृत गर्दै दिनुभएको जानकारीअनुसार हाल ब्यारेजमा पानीको सतह तीन लाख ४०० क्युसेक पुगेको छ ।
ब्यारेजमा पानीको सतह तीन लाख क्युसेक पुगेपछि चेतावनीको तह मानिने पालले बताउनुभयो । नारायणी नदीमा पानीको बहाव बढेपछि शुक्रबार रातिदेखि नै गण्डक ब्यारेजका सबै ढोका खुला गरिएको पालले जानकारी दिनुभयो । नदीमा बाढी आएसँगै नदीबाट निकालिएको नेपाल र भारततर्फको दुवै नहरमा पानी पूर्ण रूपमा बन्द गरिएको पालको भनाइ छ ।
ब्यारेजमा पानीको सतह बढ्दै गरेको उल्लेख गर्दै पालले ब्यारेजको माथिल्लो पानीको सतह ३५९.२ फिट तथा तल्लो पानीको सतह ३५७.६ फिट पुगेको जानकारी दिनुभयो । ब्यारेजमा पानीको बहाव बढ्न थालेपछि सुस्ताको जमिन डुबानमा परेको भन्दै पालले बाढी प्रभावितलाई सुरक्षित ठाउँमा लैजाने काम गरिएको जानकारी दिनुभयो ।