नेभिगेशन
शनिबार, असोज १०, २०८३

लगातारको वर्षाले कैयौँ नदीमा जल सतह बढ्यो, सुस्तामा दर्जनौँ घर डुबानमा

काठमाण्डौ – लगातारको वर्षापछि देशका प्रमुख नदीहरूमा जलसतह बढेको छ भने तटीय क्षेत्रमा डुबान शुरु भएको छ ।

नारायणी नदीमा पानीको बहावले सतर्कता तह पार गरेपछि नवलपरासीको सुस्तामा ७० भन्दा बढी घर डुबानमा परेका छन् । नारायणीको जलसतह ८ दशमलव ३० मिटर पुगेको छ ।

जलसतह ९ मिटर पुगेमा खतराको तह पार हुने भएकोले, चितवन र नवलपरासीका तटीय ठाउँका बासिन्दालाई उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ ।

नदीको पानी बस्तीमा पसेपछि सुस्तामा डुबानबाट प्रभावित झण्डै ४०० बासिन्दालाई सुरक्षित ठाउँमा सारिएको छ । उद्धारका लागि सुरक्षा निकाय तयारी अवस्थामा रहेका छन् । उता, कोशी र यसका सहायक नदीहरूमा पनि जलसतह सतर्कता तहभन्दा माथि पुगेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका र हनुमान नगर कंकालिनी नगरपालिकाका १५७ घर डुबानमा परेका छन् । घर–घरमा पसेपछि खाद्यान्नमा समेत क्षति पुगेको छ ।

बागमती, पश्चिम राप्ती र बबईलगायतका नदीको बहाव पनि सतर्कता तह नजिक पुगेको छ । गएको २४ घण्टामा देशका २० भन्दा बढी स्थानमा १०० मिलिमिटरभन्दा बढी अर्थात् ’धेरै भारी वर्षा’ मापन गरिएको छ ।

देशभरका साना तथा ठूला नदीहरूमा आकस्मिक बाढी आउन सक्ने र थप डुबान हुन सक्ने भन्दै तटीय क्षेत्रमा नजान सुझाव दिइएको छ ।

आज गण्डकी र पश्चिमका प्रदेशहरूमा बाढी र डुबानको बढी जोखिम रहे पनि, भोलि दिउँसोदेखि भने मौसममा क्रमिक सुधार आउने मौसमविद्ले बताएका छन् । 

प्रकाशित मिति:
थप समाज