नेभिगेशन
सोमबार, असोज १२, २०८३

एसियाली खेलकुद अन्तर्गत ८ सय मिटर दौडमा सोमबहादुर कुमालको राष्ट्रिय कीर्तिमान

२० औँ एसियाली खेलकुदअन्तर्गत पुरुष ८०० मिटर दौडमा सोमबहादुर कुमालले राष्ट्रिय कीर्तिमान बनाएका छन् । जापानको नागोया सिटी मिजुहो पार्क एथलेटिक स्टेडियममा हिजो भएको हिट–१ मा कुमालले १ मिनेट ४८.९५ सेकेन्डमा दूरी पूरा गर्दै नयाँ राष्ट्रिय कीर्तिमान बनाए ।

त्रिभुवन आर्मी क्लबका कुमाल ८ खेलाडीमध्ये पाँचौँ स्थानमा रहे । यसअघि कुमालकै नाममा १ मिनेट ४९.५५ सेकेन्डको राष्ट्रिय कीर्तिमान थियो । नयाँ राष्ट्रिय कीर्तिमान बनाए पनि सोम फाइनलमा पुग्न भने सकेनन् । २४ खेलाडीमध्ये उनी समग्रमा आठौँ स्थानमा रहे ।

हिजै अभिषेक बास्तोला र प्रदीप खड्काको नेपाली जोडी एसियाड टेनिसको पुरुष डबल्स टेनिसको दोस्रो चरणमा प्रवेश गरेको छ । अब नेपाली जोडीले पहिलो चरणमा बाई पाएको भारतका ए चन्द्रशेखर र बी नारायणस्वामीको जोडीसँग खेल्नेछ । यो खेलको विजेता क्वार्टरफाइनलमा पुग्नेछ ।

महिला सिंगल्समा नेपालकी स्वस्तिका बिष्ट जापानकी मोयुका उचिजिमासँग ६–१, ६–१ ले पराजित भइन् । यस्तै, शिवाली गुरुङ दक्षिण कोरियाकी दायोन ब्याकसँग ६–१, ६–० ले पराजित भईन । मिक्स्ड डबल्सको पहिलो चरणमा नेपालका शिवाली गुरुङ र प्रदीप खड्काको जोडी जापानका शुको ओयामा र युसेके कुसुहाराको जोडीसँग ६–०, ६–१ ले पराजित भए ।


 

प्रकाशित मिति:
थप खेलकुद