नेभिगेशन
सोमबार, असोज १२, २०८३
एशियाली खेलकुद क्रिकेट

नेपाल र श्रीलङ्काबीचकाे क्वाटरफाइनलमा वर्षाकाे चिन्ता

काठमाण्डाै – एशियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा भोलि नेपालले श्रीलङ्कासँग खेल्दैछ । यो खेल भोलि बिहान पौने ६ बजे करोगी स्पोर्ट्स पार्कमा शुरू हुनेछ ।

प्रतियोगितामा नेपाल समूह ‘ए’ को विजेता बन्दै क्वाटरफाइनलमा पुगेको थियो । समूह चरणमा नेपालले अफगानिस्तानलाई हराएको थियो भने जापानसँगको खेल वर्षाका कारण नतिजाविहीन भएको थियो ।

एशियाली खेलकुदमा नेपाल र श्रीलङ्काबीच १६ वर्षपछि भेट हुन लागेको हो । यसअघि सन् २०१० मा भएको प्रतियोगिताको क्वाटरफाइनलमा नेपाल श्रीलङ्कासँग २ विकेटले पराजित भएको थियो ।

यस्तै पछिल्लो पटक नेपाल र श्रीलङ्काबीच सन् २०२४ को टी विश्वकपमा प्रतिस्पर्धा हुने तय भएको थियो । तर त्यो खेल वर्षाका कारण टस पनि हुन नपाई रद्द भएको थियो ।

यसैबीच भोलि हुने नेपाल र श्रीलङ्काबीचको क्वाटरफाइनल खेलमा वर्षाको सम्भावना छ । यो खेल वर्षाका कारण हुन नसकेमा आईसीसी वरीयताका आधारमा श्रीलङ्का सेमिफाइनलमा पुग्नेछ भने नेपाल बाहिरिनेछ । नेपालले यो खेल जित्यो भने इतिहास रच्दै सेमिफाइनलमा पुग्नेछ र भारतसँग प्रतिस्पर्धा हुनेछ ।

आज भएको पहिलो र दोस्रो क्वाटरफाइनल खेल पनि वर्षाका कारण रद्द भएको थियो । आजको पहिलो खेलमा पाकिस्तानले हङकङसँग र दोस्रो खेलमा भारतले अफगानिस्तानसँग खेल्ने तालिका थियो । तर वर्षाका कारण टससमेत हुन नसकेपछि भारत र पाकिस्तान आईसीसी वरीयताका आधारमा सेमिफाइनलमा पुगेका छन् ।

प्रतियोगिताको चौथो क्वाटरफाइनलमा भोलि बिहान सवा १० बजे बङ्गलादेश र मलेशियाबीच खेल हुनेछ ।

प्रकाशित मिति:
थप खेलकुद