काठमाण्डाै – रोकथाम गर्न सकिने रोग भए पनि रेबिजका कारण नेपालसहित विश्वमै अझै वर्षेनि हजारौँ मानिसले ज्यान गुमाउनुपरेको छ ।
विश्व रेबिज दिवसका अवसरमा सन्देश जारी गर्दै स्वास्थ्य मन्त्रालयले नेपालमा रेबिज अझै ठूलो जनस्वास्थ्य चुनौतीका रूपमा रहेको जनाएको छ ।
गएको आर्थिक वर्षमा मात्रै नेपालमा २ लाख २३ हजारभन्दा धेरै जनावरको टोकाइका घटना दर्ता भएका छन् जसमध्ये ९६ प्रतिशत टोकाइ कुकुरबाट भएको हो । नेपालमा वर्षेनि झन्डै १०० जनाको रेबिजका कारण ज्यान जाने गरेको अनुमान छ र कुल जनसङ्ख्याको आधा हिस्सा उच्च जोखिममा रहेको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. अनुज भट्टचनका अनुसार कुकुर वा अन्य जनावरले टोकेमा घाउलाई १५ मिनेटसम्म साबुनपानीले धुनुपर्छ र तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा गई खोप लगाउनुपर्छ ।
‘कुकुर, बिरालो वा अन्य सम्भावित रेबिज सङ्क्रमित जनावरले टोकेमा वा चिथोरेमा घटनालाई सामान्य ठानेर उपचारमा ढिलाइ गर्नु हुँदैन’, निर्देशक डा. भट्टचनले भन्नुभयो, ‘यस्तो अवस्थामा घाउलाई साबुन र बगिरहेको पानीले कम्तीमा १५ मिनेटसम्म राम्ररी धुनुपर्छ र घाउमा खुर्सानी, तेल, माटो, जडीबुटी वा अन्य कुनै घरेलु पदार्थ लगाउनुहुँदैन ।’
नेपालले सन् २०३० सम्ममा कुकुरको टोकाइबाट हुने रेबिज मृत्यु शून्यमा पुर्याउने लक्ष्य राखेको छ । यसका लागि देशभरका २८६ केन्द्रबाट निःशुल्क खोप सेवा प्रदान गर्दै आएको छ ।
घरपालुवा कुकुरलाई नियमित खोप लगाउन र सामुदायिक सहकार्य बढाउन मन्त्रालयलले आग्रह गरेको छ ।
हरेक वर्ष सेप्टेम्बर २८ मा विश्व रेबिज दिवस मनाइन्छ । विश्वभर हरेक वर्ष अनुमानित ५८ हजार ९९० मानिसको रेबिजका कारण ज्यान जाने गरेको छ । यसमध्ये ४७ प्रतिशत रेबिजबाट हुने मृत्यु दक्षिणपूर्वी एशियामा तथा ३२.५ प्रतिशत अफ्रिकी देशमा हुने गरेको तथ्याङ्क छ । यसमा झन्डै ४० प्रतिशत १५ वर्षभन्दा कम उमेरका बालबालिका छन् । मानव रेबिजका झन्डै ९९ प्रतिशत घटनाहरु कुकुरसँग सम्बन्धित छन् ।
यो दिवस रेबिजको रोकथाम, जनचेतना अभिवृद्धि तथा मानव र पशु स्वास्थ्यबीचको समन्वयलाई सुदृढ गर्दै रेबिज निवारणतर्फको प्रतिबद्धता दोहोर्याउने अवसरका रूपमा लिइन्छ । यो दिन लुई पास्चरको स्मृति दिवससमेत हो । रेबिजविरुद्धको पहिलो सफल खोप विकासमा उहाँको महत्त्वपूर्ण योगदान रहेको थियो । यस वर्ष ‘एकतामा शक्ति, रेबिजबाट मुक्ति’ भन्ने सन्देशका साथ विश्व रेबिज दिवस मनाइएको छ ।