नेभिगेशन
मंगलबार, असोज १३, २०८३

चीनसँगका तीन वटै नाका बन्द

काठमाण्डौ - दशैँतिहार जस्ता मुख्य चाडपर्व नजिकिँदै गर्दा चीनसँगका तीन वटै व्यापारिक नाका बन्द भएपछि स्थल मार्गको व्यापार र आपूर्ति व्यवस्था प्रभावित भएको छ । 

लगातारको वर्षा, बाढी पहिरो र सडक तथा पुलमा भएको क्षतिका कारण तातोपानी, रसुवागढी र कोरला नाका हुँदै हुने व्यापारिक आवागमन प्रभावित भएको हो । तीन वटै नाका एकपछि अर्को बन्द भएपछि दशैँका लागि चीनबाट ल्याइएका ठूलो परिमाणका सामान बाटोमै रोकिएका छन् । 

सबैभन्दा पुरानो तातोपानी–खासा नाका पहिरोको जोखिमका कारण यसअघि नै बन्द थियो । भदौ १० गते भोटेकोशीमा आएको बाढीले रसुवागढी नाकाका भौतिक संरचनामा ठूलो क्षति पुर्‍याएपछि त्यहाँबाट हुने व्यापार पनि रोकिएको हो । तातोपानी र रसुवागढी बन्द भएपछि चीनसँगको व्यापारका लागि विकल्प बनेको मुस्ताङको कोरला नाका पनि पछिल्लो बाढीका कारण सडक सम्पर्कबाट विच्छेद भएको छ ।

व्यवसायीहरूका अनुसार दशैँलाई लक्षित गरेर ल्याइएका सामानमध्ये काठमाण्डौसम्म झण्डै २५ प्रतिशतमात्रै आइपुगेको छ । जसले गर्दा चाडपर्वको मुखमा महँगी बढ्ने चिन्ता आम उपभोक्तामा छ ।यसैबीच, सरकारले भने नेपाल–चीन सीमा नाका पूर्ण रूपमा सञ्चालनमा ल्याउन पहल थालेको छ । कोदारी–तातोपानी नाकाको अवस्था बुझ्न परराष्ट्र मन्त्रालयका सहसचिव रामकाजी खड्काको नेतृत्वमा उच्चस्तरीय नेपाली टोलीले स्थलगत निरीक्षण तथा संयुक्त अनुगमन गरेको छ । चिनियाँ पक्षसँगको छलफलमा नेपाली टोलीले सीमा नाकामा देखिएका अवरोध तत्काल हटाउन आग्रह गरेको छ । 

सरकारले तातोपानी नाकासहित चीनसँग जोडिएका व्यापारिक नाकालाई नियमित र प्रभावकारी रूपमा सञ्चालनमा ल्याउने प्रयास भइरहेको जनाएको छ । 

प्रकाशित मिति:
थप अर्थ