नेभिगेशन
बुधबार, असोज १४, २०८३

भोटेकोशी बाढीपछिको खोज, उद्धार र राहतमा थप समन्वयबारे छलफल

काठमाण्डौ – गएको भदौ १० मा आएको भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा खोज तथा उद्धार, राहत वितरण र सडक सम्पर्क पुनर्स्थापनाको कामलाई थप प्रभावकारी बनाउन सम्बन्धित निकायबीच छलफल भएको छ ।

मनसुन प्रतिकार्य कमान्ड पोस्टमा बसेको बैठकमा भोटेकोशी बाढी तथा यही असोज ८ देखि ११ गतेसम्मको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानबाट भएको क्षति, खोज तथा उद्धार, राहत व्यवस्थापन र अवरुद्ध सडक पुनर्स्थापनाका लागि भइरहेका प्रयासबारे छलफल भएको हो ।

बैठकमा प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउने, क्षतिको विवरण अद्यावधिक गर्ने तथा सडक सम्पर्क पुनर्स्थापनाका लागि भइरहेका कामको समीक्षा गरिएको थियो ।

केन्द्रीय मनसुन प्रतिकार्य कमान्ड पोस्टका संयोजक डा. धर्मराज उप्रेतीसहितको टोलीले रसुवा, नुवाकोट र धादिङका जिल्ला मनसुन प्रतिकार्य कमान्ड पोस्टसँग समन्वय गर्ने निर्णय गरेको छ । संयोजक डा. उप्रेतीले अस्थायी आवासका लाभग्राही पहिचान, सम्पर्कविहीन व्यक्तिको विवरण रुजु तथा प्रमाणीकरण र त्यसैका आधारमा मृतकका परिवारलाई राहत उपलब्ध गराउने विषयमा छलफल भएको बताउनुभयो ।

बैठकले प्रभावित परिवारलाई राहत तथा अस्थायी आवासको व्यवस्था गर्न आवश्यक विवरण यथाशीघ्र अद्यावधिक तथा प्रमाणीकरण गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।   

प्रकाशित मिति:
थप राजनीति