नेभिगेशन
बुधबार, असोज १४, २०८३

तमिलनाडुका सरकारी अस्पतालमा जन्मिने शिशुलाई १ ग्रामकाे सुनको औँठी

भारतको तमिलनाडु राज्य सरकारले सरकारी अस्पतालमा जन्मिने नवजात शिशुलाई सुनको औँठी उपहार दिने नयाँ योजना शुरू गरेको छ ।

मुख्यमन्त्री सी. जोसेफ विजयले हस्ति सोमवार मदुरैमा रहेको राजाजी अस्पतालबाट ‘थाई मामन थङ्गा मोतिरम’ नामक योजना शुरुआत गर्नुभएको हो । त्यस क्रममा मुख्यमन्त्री विजयले केही नवजात शिशुलाई आफैँ औँठी लगाइदिनुभयो ।

योजनाअन्तर्गत तमिलनाडुका हरेक सरकारी अस्पताल तथा प्राथमिक स्वास्थ्य केन्द्रमा जन्मिने शिशुलाई एक ग्राम तौलको २२ क्यारेट सुनको औँठी उपहार दिइने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यो योजनाको मुख्य उद्देश्य सरकारी स्वास्थ्य सेवाप्रति सर्वसाधारणको विश्वास बढाउनु र सुरक्षित संस्थागत प्रसूति गर्नु रहेको राज्य सरकारको भनाइ छ ।

यसैबीच विपक्षी भारतीय जनता पार्टी (भाजपा) ले नवजात शिशुलाई सुनको औँठीभन्दा पोषणको आवश्यकतामा जोड दिएको छ ।

भाजपा नेत्री तमिलिसाई सुन्दरराजनले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘नवजात शिशुका लागि सुनको औँठी स्वागतयोग्य कदम हुन सक्छ, तर परिवारका लागि सबैभन्दा तत्कालको आवश्यकता भनेको हरेक दिन आवश्यक पोषणको उपलब्धता सुनिश्चित गर्नु हो ।’

सरकारी अस्पतालमा जन्मिएका शिशुहरूलाई सुनको औँठी उपहार दिन ठूलो रकम खर्च गरिने तर हरेक सरकारी अस्पतालमा पर्याप्त सुविधा सुनिश्चित गर्न पनि उत्तिकै बजेट छुट्याइनुपर्ने उहाँले उल्लेख गर्नुभयो ।

भारतमा आर्थिक रूपमा सम्पन्न व्यक्तिहरू सामान्यतया निजी अस्पतालहरूमा उपचार गराउन रुचाउँछन् । यसका पछाडि धेरै कारणहरू छन् – सरकारी अस्पतालहरूमा प्रायः अत्यधिक भीडभाड हुने गर्छ, उपलब्ध शय्याको तुलनामा बिरामीहरूको सङ्ख्या निकै धेरै हुन्छ, चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीहरूको अभाव हुन्छ, उपचारका लागि बिरामीहरूले लामो समय कुर्नुपर्ने हुन्छ र अस्पतालको पूर्वाधार पनि प्रायः अपर्याप्त हुन्छ ।

पछिल्ला वर्षहरूमा सरकारी अस्पतालहरूमा आगलागीका कारण बालबालिकाले ज्यान गुमाएका धेरै घटनाहरू भएका छन् । यस्ता घटनाले सरकारी अस्पतालहरूप्रति अभिभावकहरूको विश्वास घटिरहेको छ । तमिलनाडु सरकारले अहिले त्यो विश्वास पुनर्स्थापित गर्ने प्रयास गरिरहेको छ ।

प्रकाशित मिति:
थप विश्व