नेभिगेशन
बिहीबार, असोज १५, २०८३

रङ्गशालाकाे क्षमता ५० हजार, खेल हेर्न १ हजार जना पनि आएनन्

जापानमा चलिरहेको २०औँ संस्करणको एशियाली खेलकुदका केही प्रतियोगिताहरूमा दर्शकहरूको न्यून उपस्थिति चर्चाको विषय बनेको छ ।

५० हजार क्षमताको रङ्गशालामा भएको महिला फुटबलको सेमिफाइनलमा जापानले दक्षिण कोरियालाई पराजित गरेको खेल १ हजारभन्दा कम दर्शकले हेरेका छन् । यो खेल हेर्न ९९८ जना मात्र उपस्थित भएपछि केही खेलहरूप्रति आकर्षण बढाउन भइरहेको सङ्घर्षलाई उजागर गरेको छ ।

आयोजकहरूले एशियाको सबैभन्दा ठूलो खेलकुद महोत्सवका लागि १० लाखभन्दा धेरै टिकट बिक्री भइसकेको बताएको केही घण्टापछि यो जानकारी सार्वजनिक भएको हो ।

यही सेप्टेम्बर १९ मा हजारौँ खाली सिटहरूको अगाडि उद्घाटन समारोह सम्पन्न भएयता जापानी आयोजकहरू दर्शकको उपस्थितिलाई लिएर बचाउको मुद्रामा छन् । त्यतिखेर उनीहरूले आँधीको जोखिमले मानिसहरू हच्किएका बताएका थिए ।

केही प्रतियोगिताहरूमा दर्शकहरूको राम्रो उपस्थिति देखिए पनि अन्यमा भने प्रशंसकहरूलाई आकर्षित गर्न कठिनाइ भएको छ ।

स्थानीय खेल आयोजकहरूले टिकट बिक्रीप्रति आफूहरू सन्तुष्ट नभएको स्वीकार गरेका छन् । एथ्लेटिक्सका मुख्य आकर्षण मानिने पुरुष तथा महिलातर्फको १०० मिटर दौड प्रतियोगिताहरू खाली सिटहरूको माझमा सम्पन्न भएका थिए ।

‘हामी रङ्गशालाहरू पूर्णरूपमा भरिएका देख्ने लक्ष्य राख्न र टिकट बिक्रीलाई निरन्तरता दिनुका साथै सिट सुनिश्चित गरेका व्यक्तिहरू वास्तवमै आउने कुरा सुनिश्चित गर्न काम गरिरहनेछौँ’, खेलकुद प्रतियोगिता आयोजक समितिका महासचिव सातोशी मुरातेले भन्नुभयो ।

गएराति सार्वजनिक भएको एक विज्ञप्तिमा आयोजकहरूले टिकट बिक्रीको समग्र दर ७० प्रतिशतभन्दा धेरै हुने अपेक्षा गरेको बताएका छन् ।

प्रकाशित मिति:
थप खेलकुद