नेभिगेशन
शुक्रबार, असोज १६, २०८३

एशियाली खेलकुद क्रिकेट : स्वर्ण पदकका लागि भारत र पाकिस्तान खेल्ने

काठमाण्डाै – जापानमा चलिरहेको २०औँ संस्करणको एशियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा स्वर्ण पदकका लागि भारत र पाकिस्तान खेल्ने भएका छन् ।

निशिनमा रहेकाे कराेगी स्पाेर्ट्स पार्कमा आज भएकाे सेमिफाइलनमा पाकिस्तानले बङ्गलादेशलाई ६ विकेट र भारतले श्रीलङ्कालाई १२४ रनले हराउँदै फाइनलमा भेट पक्का गरेका हुन् ।

बङ्गलादेशले दिएको ११२ रनको लक्ष्य पाकिस्तानले ११ ओभर ३ बलमा ४ विकेट गुमाएर भेटायो । पाकिस्तानका अब्दुल समादले १५ बलमा नटआउट ३० रन बनाए । बङ्गलादेशका मेहदी हसन, नसुम अहमद, मुस्ताफिजुर रहमान र रिशद होसेनले १/१ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको बङ्गलादेशले १३ ओभरमा घटाइएको खेलमा ७ विकेट गुमाएर १११ रन बनायो । बङ्गलादेशका त्वहिद हृदयले ४२ रन बनाए । पाकिस्तानका सुफयान मोकिमले ३ विकेट लिए ।

यस्तै भारतले दिएको १७० रनको लक्ष्य पछ्याएको श्रीलङ्काले ९ ओभर ५ बलमा ४५ रन बनाउँदा सबै विकेट गुमायो । श्रीलङ्काका निवानिदु फर्नान्डोले सबैभन्दा धेरै १५ रन बनाए । भारतका जसप्रित बुमराह, अक्षर पटेल र अभिषेक शर्माले २/२ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको भारतले २० ओभरमा ७ विकेट गुमाएर १६९ रन बनायो । भारतका ईशान किशनले ४६ बलमा नटआउट ८० रन, वैभव सूर्यवंशीले ३८ रन बनाए । श्रीलङ्काका थरिन्दु रत्नायके र सहन अराच्चिगेले २/२ विकेट लिए ।

स्वर्ण पदकका लागि भारत र पाकिस्तानबीचको फाइनल खेल पर्सि शनिवा हुनेछ । एशियाली खेलकुदमा क्रिकेटको स्वर्ण पदकका लागि दुई एशियाली शक्तिबीचको खेललाई  विशेष महत्त्वका साथ हेरिएको छ ।

यस्तै सेमिफाइनलमा पराजित भएका बङ्गलादेश र श्रीलङ्काले कांस्य पदकका लागि शनिवार नै खेल्नेछन् ।

प्रकाशित मिति:
थप खेलकुद