नेभिगेशन
शुक्रबार, असोज १६, २०८३

जापानले स्थायी बसोबासको शुल्क २० गुणा बढायो

जापानले स्थायी बसोबासको अनुमति लिन चाहने विदेशीहरूका लागि लाग्ने शुल्क २० गुणाले बढाएर २ लाख येन अर्थात् १ हजार २७० अमेरिकी डलर पुर्‍याएको छ । यो शुल्क नेपालीमा १ लाख ९५ हजार रुपैयाँ हुन आउँछ ।

स्थायी बसोबासको अनुमति चाहनेहरूले अब आम्दानी, निवृत्तिभरण र जापानी भाषासम्बन्धी नयाँ मापदण्डहरू पनि पूरा गर्नुपर्ने बीबीसीले जनाएको छ ।

यस हप्ताको शुरूमा शुल्क वृद्धि हुनुअघि नै आवेदन दिनेहरूको प्रयासका कारण अध्यागमन कार्यालयहरू बाहिर लामो लाइन लागेको थियो । टोकियोको मुख्य अध्यागमन कार्यालयमा त पालो कुर्न ७ घण्टाभन्दा धेरै समय लागेको खबरमा उल्लेख छ ।

शुल्कमा गरिएको यो वृद्धि प्रधानमन्त्री साने ताकाइचीको नेतृत्वमा जापानको आप्रवासन नीतिमा गरिएका विभिन्न परिवर्तनहरूको एक हिस्सा हो जसको उद्देश्य तीव्र गतिमा बढिरहेको विदेशी जनसङ्ख्यालाई व्यवस्थापन गर्नु हो ।

गएको जुलाईमा जापानले सबै विदेशीहरूका लागि भिसा शुल्कमा पाँच गुणा वृद्धि लागू गरेको थियो जुन ५० वर्षयताको पहिलो पटक गरिएको भिसा शुल्क वृद्धि हो । अधिकारीहरूका अनुसार यो कदम महँगी र विनिमय दरमा हुने उतारचढावलाई समायोजन गर्न चालिएको थियो ।

जापानमा आप्रवासनको विषय राजनीतिक रूपमा संवेदनशील र कडा नियमनयुक्त भए पनि बढ्दो उमेरको जनसङ्ख्याका कारण श्रमको अभाव पूर्ति गर्न विदेशी कामदारहरूमाथि बढ्दो रूपमा निर्भर हुनुपर्ने बाध्यता छ ।

सन् २०२५ को अन्त्यसम्ममा जापानमा बसोबास गर्ने विदेशीहरूको सङ्ख्या ४१ लाख २० हजार नाघेको छ जुन अघिल्लो वर्षको तुलनामा ९.५ प्रतिशतको कीर्तिमानी वृद्धि हो । यद्यपि यसले आप्रवासन र सामाजिक परिवर्तनलाई लिएर बढ्दो चिन्ता पनि सिर्जना गरेको छ ।

प्रकाशित मिति:
थप विश्व