नेभिगेशन
शुक्रबार, असोज १६, २०८३

प्रतिनिधि सभामा मेडिकल कलेजका विद्यार्थीको समस्यादेखि गाडी दुर्घटनासम्मका विषयमा ध्यानाकर्षण

काठमाण्डौ - प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले वीरगञ्जमा रहेको मेडिकल कलेजमा विद्यार्थीले भोगिरहेका समस्यादेखि देशका विभिन्न ठाउँमा भएका दुर्घटनाको विषय उठाउनुभएको छ ।

बैठकको आकस्मिक समयमा सांसद रहबर अन्सारीले पर्साको वीरगञ्ज मेडिकल कलेजमा नक्कली चिकित्सक र चर्काे शुल्कको समस्याबाट विद्यार्थीलाई मुक्ति दिन मागसहित ध्यानाकर्षण गराउनुभयो । त्यस्तै सांसद क्षितिज थेबेले मध्यवर्ती क्षेत्रको बफरजोनका बासिन्दाको दैनिकी सङ्घर्षमय भएकाले बफरजोन क्षेत्र हटाउनुपर्ने बताउनुभएको छ ।

सांसद धनेन्द्र कार्कीले पछिल्लो समय गाडी दुर्घटना बढेका भन्दै यसको न्यूनीकरणका लागि सचेत हुन आग्रह गर्नुभयो । सांसद ध्रुवराज राईले यो अधिवेशनका नराम्रा प्रवृत्ति आउँदो अधिवेशनमा नदोहोरियोस् र प्रतिपक्षका आवाजको सुनुवाइ होस् भनी आग्रह गर्नुभयो ।

त्यस्तै बैठकको शून्य समयमा सांसदहरूले किसानका समस्या, मलखाद, सिँचाइ र उत्पादनको उचित मूल्यलगायतका विषयसँगै झापामा हात्तीका कारण दुःख पाएको, धानको मूल्य तोकिए पनि सरकारी गोदामले हाइब्रिड धान किन्न शुरु नगरेकोजस्ता विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

यसैबीच संसद्को बर्खे अधिवेशन आजदेखि अन्त्य हुँदैछ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकको सिफारिसअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले आज राति १२ बजेदेखि लागू हुने गरी प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनको बर्खे अधिवेशन अन्त्य गर्नुभएको हो । यो बर्खे अधिवेशन गएको वैशाख २८ गतेदेखि शुरु भएको थियो । चालू अधिवेशनबाट बजेट पास भएको छ भने बजेटसँग सम्बन्धित केही कानुन पनि बनेका छन् ।

प्रकाशित मिति:
थप राजनीति