नेभिगेशन
शुक्रबार, असोज १६, २०८३

कांग्रेसको १५औँ महाधिवेशनलाई प्रविधिमैत्री बनाइने, तामझाम नगर्ने

काठमाण्डौ - कांग्रेसको पर्सि आइतबारदेखि हुने १५औँ महाधिवेशनको तयारी तीव्र भएको छ ।

कांग्रेस काठमाण्डौ जिल्ला सभापति सबुजकृष्ण बानियाँको संयोजकत्वमा रहेको महाधिवेशन समारोह स्थल व्यवस्थापन समितिले खुलामञ्चमा मञ्च व्यवस्थापनको कामलाई तीव्रता दिएको छ । आइतबार दिउँसो २ बजे खुलामञ्चमा उद्घाटन तथा त्यसको भोलिदेखि बन्द सत्र हुनेछ । बन्द सत्रका लागि महाधिवेशन प्रतिनिधि बस्नका लागि दुई हजार ५०० प्रतिनिधि अट्न मिल्ने गरी छुट्टाछुट्टै तीन वटा हलको व्यवस्था गरिएको छ ।

प्रतिनिधिको दर्ता भने पार्टी केन्द्रीय कार्यालय सानेपामा आजदेखि नै शुरु भएको छ । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको १५औँ महाधिवेशन प्रविधिमैत्री हुने जानकारी दिनुभयो । उहाँकाअनुसार तामझाम हुने छैन भने प्रचारप्रसारका गतिविधि डिजिटल माध्यमबाट गर्न आग्रह गरिएको छ ।  महाधिवेशन स्थलको मुख्य प्रवेशद्वारबाहेक अन्य ठाउँमा प्रचार सामग्री टाँस्ने काम नगरिने पनि उहाँले बताउनुभयो ।

महाधिवेशनको उद्घाटन सत्रका लागि निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई अनुरोध गरिएको पनि पार्टीका प्रवक्ता चालिसेले जानकारी दिनुभएको छ । तर देउवा समूहले आउँदो मङ्सिरमा काठमाण्डौमा १५औँ केन्द्रीय महाधिवेशन गर्ने निर्णयसहित आफ्ना गतिविधिलाई अगाडी बढाएको छ ।

प्रकाशित मिति:
थप राजनीति