नेभिगेशन
शनिबार, असोज १७, २०८३

कांग्रेसमा पदाधिकारी संख्या थप्ने तयारी, महाधिवेशन प्रतिनिधि अहिलेसम्मकै धेरै

काठमाण्डौ – भोलिदेखि शुरु हुने कांग्रेसको १५ औँ महाधिवेशनको पूर्वसन्ध्यामा पदाधिकारी संख्या थप्ने तयारी भएको छ । कांग्रेसमा पहिले पदाधिकारीको संख्या १४ रहेकामा विशेष महाधिवेशनमा विधान संशोधन गरेर तीन पदाधिकारी थपिएको थियो ।

नेतृत्वमा आकांक्षी बढेपछि फेरि पदाधिकारीको संख्या बढाउने तयारी भएको छ । यसबारे आज निर्णय हुने कांग्रेस नेताहरुले बताएका छन् । कांग्रेसको अहिलेको विधानमा सभापति एक, उपसभापति र महामन्त्री दुई/दुई तथा आठ क्लस्टरबाट आठ सहमहामन्त्री निर्वाचित हुने व्यवस्था छ ।

केन्द्रीय कार्यसमितिबाट अनुमोदन हुने गरी सभापतिले कोषाध्यक्ष मनोनयन गर्ने प्रावधान छ । विशेष महाधिवेशनले विधान संशोधन गर्दै सभापतिले मनोनयन गर्ने गरी तीन सहमहामन्त्री थपेको छ । मनोनयन हुने सहमहामन्त्रीमा एक महिला अनिवार्य हुने भनिएको छ । उपसभापति र सहमहामन्त्रीको संख्या बढाएर अरू पदलाई यथावत् राख्ने तयारी भएको हो ।

३५ वर्षमुनिका युवाका लागि पनि सहमहामन्त्रीमा सिट छुट्याउने कांग्रेसको तयारी छ । केन्द्रीय कार्यसमिति सदस्यमा ३५ वर्षमुनिका युवा २१ जना चुनिने गरी आरक्षणको व्यवस्था गरिएको छ । अहिलेको विधानमा महिला, आदिवासी जनजाति, दलित, मधेशी, खसआर्य, थारू, मुस्लिम र पिछडिएको क्षेत्रबाट एकरएक सहमहामन्त्री निर्वाचित हुने व्यवस्था छ ।

कांग्रेसको १५ औं महाधिवेशन भोलिदेखि शुरु हुँदैछ । महाधिवेशनमा अहिलेसम्मकै धेरै ७७ सय प्रतिनिधि सहभागी हुँदैछन् । केन्द्रीय निर्वाचन समितिले पर्सि सोमबार दिउँसो २ बजेदेखि उम्मेदवार मनोनयन गर्ने कार्यक्रम सार्वजनिक गरेको छ ।

१४ औं महाधिवेशनमा १ सय ६४ सदस्यीय केन्द्रीय कार्यसमिति रहेकामा विशेष महाधिवेशनपछि यसको आकार बढाएर २ सय ३८ सदस्यीय पुर्याइएको छ । तीमध्ये ६१ केन्द्रीय सदस्य सभापतिले मनोनयन गर्ने व्यवस्था छ । 

प्रकाशित मिति:
थप राजनीति