नेभिगेशन
शनिबार, असोज १७, २०८३

कांग्रेस महाधिवेशन : उम्मेदवारकाे मनोनयन सोमवार

काठमाण्डाै – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको नयाँ नेतृत्व चयनका लागि उम्मेदवारको मनोनयन दर्ता पर्सि साेमवार हुने भएको छ ।

केन्द्रीय निर्वाचन समितिले कार्यसूची सार्वजनिक गर्दै असोज १९ गते सोमवार दिउँसो २ बजेदेखि बेलुका ६ बजेसम्म काठमाण्डाैमा रहेको राष्ट्रियसभा गृहमा मनोनयन दर्ताको समय तोकेको जानकारी गराएको हो ।

कांग्रेस महाधिवेशनकाे  उद्घाटन भोलि आइतवार खुलामञ्चमा हुँदैछ । महाधिवेशनलाई सुरक्षित र व्यवस्थित बनाउन सम्पूर्ण तयारी पूरा गरेको स्वास्थ्य समितिले जनाएको छ ।

समितिका अनुसार महाधिवेशन स्थल खुलामञ्चमा ३० जना स्वास्थ्यकर्मीसहितको ५ वटा हेल्थ डेस्क स्थापना गरिएको छ जहाँबाट प्रतिनिधिले निःशुल्क औषधि र स्वास्थ्य परीक्षणको सुविधा पाउनेछन् । प्रतिनिधिलाई रातिको समयमा समस्या परेमा ‘अन कल’ ड्युटीमार्फत होटलमै पुगेर स्वास्थ्य जाँच गर्ने व्यवस्थासमेत मिलाइएको छ ।

यसैबीच कांग्रेसले युवा र महिलाको पहुँच बढाउन पदाधिकारीको सङ्ख्या थप्ने तयारी गरेको छ । विधान संशोधन समितिले तयार पारेको प्रस्ताव अनुमोदन भएमा यही महाधिवेशनदेखि लागू हुने गरी २ उपसभापति, १ महामन्त्री र १ सहमहामन्त्री थपिन सक्नेछन् । यसले ३५ वर्षमुनिका युवालाई नेतृत्वमा आउन सहज बनाउने अपेक्षा छ ।

प्रकाशित मिति:
थप राजनीति