नेभिगेशन
आइतबार, असोज १८, २०८३

रास्वपाले थाल्यो पालिका चुनावको तयारी : उम्मेदवार छनोट समिति गठन

काठमाण्डौ – सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आउँदो पालिका चुनावको तयारी थालेको छ ।

पार्टीको केन्द्रीय समितिको बैठकबाट पालिका चुनावलाई केन्द्रित गरी उम्मेदवार छनोट समिति गठन भएको छ । बैठकले पार्टीका महामन्त्री विपिन आचार्यको संयोजकत्वमा समिति गठन गरेको हो ।

रास्वपाका प्रवक्ता जगदीश खरेलले केन्द्रीय समितिको बैठकले केन्द्रीय उम्मेदवार छनोट समितिमा मिलन लिम्बू, रहबर अन्सारी, तोसिमा कार्की, कविन्द्र बुर्लाकोटी, सुशान्त बैदिक, टासी ल्हाजोम र जनकसिंह धामीलाई सदस्य मनोनित गरेको जानकारी दिनुभयो ।

समितिमा पार्टीका सातै प्रदेशका सभापति पदेन सदस्य रहने छन् । बैठकले विभिन्न केन्द्रीय विभागका प्रमुख तथा उपप्रमुखसमेत मनोनयन गरेको छ । प्रवास सम्पर्क विभागमा मनिष झा, आर्थिक व्यवस्थापन विभागमा डा. मनोहर प्रधान, कानुनी मामिला तथा संस्थागत अनुपालन विभागमा मोहनलाल आचार्य, सामाजिक न्याय, लैङ्गिक समानता तथा समावेशिता विभागमा रुविना आचार्य, सुशासन तथा राज्य व्यवस्था विभागमा सुदीप ढकाललाई प्रमुखको जिम्मेवारी दिइएको छ ।

त्यस्तै, विधायन, संसदीय मामिला तथा न्याय प्रणाली विभागमा सुलभ खरेल, कृषि, भूमि व्यवस्था तथा सहकारी विभागमा ज्ञानेन्द्र महता, श्रम, रोजगारी तथा सामाजिक सुरक्षा विभागमा दीपककुमार साह (महोत्तरी), आपूर्ति, बजार सुशासन तथा उपभोक्ता अधिकार विभागमा शर्मिला खनाल र विज्ञान, सूचना प्रविधि, नवप्रवर्तन तथा स्टार्टअप विभागमा आनन्दबहादुर चन्दलाई मनोनयन गरिएको छ । संस्कृति, पर्यटन तथा राष्ट्रिय सम्पदा विभागमा डा. धनञ्जय रेग्मीलाई प्रमुख र सम्राट बुढाथोकीलाई सदस्यमा मनोनयन गरिएको छ ।

त्यसैगरी, वातावरण, जलवायु तथा प्राकृतिक स्रोत विभागमा धर्म केसी तथा सामाजिक न्याय तथा समता प्रवर्द्धन विभागमा रिमा विश्वकर्मालाई प्रमुख मनोनयन गरिएको छ । अभियान तथा प्रचारप्रसार विभागको उपप्रमुखमा आनन्द मिश्र र अर्थ विभागमा डिल्लिश्वोर कार्की (रोहन)लाई उपप्रमुख मनोनयन गरिएको छ ।

बैठकले सबै केन्द्रीय सदस्य तथा सांसदलाई अनिवार्य रूपमा परिचालित हुन निर्देशन गरेको छ । 
    

प्रकाशित मिति:
थप राजनीति