नेभिगेशन
आइतबार, असोज १८, २०८३
कांग्रेस महाधिवेशन

गगन थापाको राजनीतिक प्रतिवेदन : गठबन्धन नगर्ने, प्रधानमन्त्रीको कार्यकाल २ पटक मात्रै बनाउने प्रस्ताव

काठमाण्डाै – नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशनमा पेश गर्नका लागि राजनीतिक प्रतिवेदन तयार पार्नुभएको छ ।

आउँदो चार वर्षका लागि कांग्रेसको वैचारिक, सङ्गठनात्मक र आर्थिक कार्यदिशा प्रस्तुत गरिएको यो प्रतिवेदनमा विगतका कमजोरीको निष्पक्ष आत्मसमीक्षा गरिएको छ ।

प्रतिवेदनमा पछिल्ला दुई दशकमा पार्टी उद्देश्यभन्दा पद र सत्तामा केन्द्रित भएको, भागबन्डा र गुटबन्दीले नैतिक धरातल कमजोर बनाएको तथा युवापुस्तासँगको दूरी बढेको यथार्थ स्वीकार गरिएको छ । नागरिकसँग औपचारिक रूपमा क्षमायाचना गर्दै पार्टीलाई पूर्णरूपमा पुनर्संरचना गर्ने प्रतिवेदनमा उल्लेख छ ।

मुख्य प्रस्तावहरूमा आउँदो चुनावदेखि कुनै पनि दलसँग गठबन्धन नगर्ने, आफ्नै एजेन्डा र उम्मेदवारसहित मतदातामा जाने नीति लिइएको छ ।

उम्मेदवार छनोटमा प्राथमिक चुनाव प्रणाली अपनाउने र प्रधानमन्त्रीको कार्यकाल दुई कार्यकालमा सीमित गर्न संवैधानिक पहल गर्ने प्रस्ताव छ ।

त्यस्तै संसद‍्मा ३८ सिटसहित सरकारका कामकारहीमाथि कडा निगरानी राख्न ‘छायाँ सरकार’ को अभ्यास गर्ने, न्यायपालिका र संवैधानिक निकायमा दलीय भागबन्डा नगर्ने सार्वजनिक प्रतिबद्धता जनाइएको छ ।

अर्थतन्त्रतर्फ निजी क्षेत्रलाई सहयात्रीका रूपमा लिँदै उत्पादन, उद्यम र रोजगारी सिर्जनालाई प्राथमिकता दिइएको छ ।

भ्रष्टाचार न्यूनीकरणका लागि आन्तरिक रूपमा स्वतन्त्र निकाय गठन गर्ने र पार्टी पदाधिकारीका लागि उच्च नैतिक मापदण्ड लागू गर्ने प्रस्ताव गरिएको छ ।

‘समुन्नत नेपाल, सम्मानित नेपाली’ को अवधारणासहित प्रस्तुत यो प्रतिवेदनले कांग्रेसलाई चुनावका बेला मात्र सक्रिय हुने दलबाट निरन्तर नागरिकसँग जोडिने राजनीतिक संस्थाका रूपमा रूपान्तरण गर्ने लक्ष्य लिएको छ ।

प्रकाशित मिति:
थप राजनीति