नेभिगेशन
आइतबार, असोज १८, २०८३

‘राष्ट्रियता र लोकतन्त्रका लागि राजनीतिक शक्तिहरू एक ठाउँमा उभिनुपर्छ’

काठमाण्डाै – नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले राष्ट्रियता र लोकतन्त्रका लागि सबै राजनीतिक शक्तिहरू फेरि एक ठाउँमा उभिनुपर्नेमा जोड दिनुभएको छ ।

नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा आज शुभकामना सम्बोधन गर्दै महासचिव पोखरेलले राष्ट्रियता र लोकतन्त्रका सवालमा सबै राजनीतिक दल एक ठाउँमा उभिएर युवाहरूका आकाङ्क्षा पूरा गर्न लाग्नुपर्ने बताउनुभयो ।

‘लोकतन्त्र, सार्वभौमसत्ता र देशको हित, राष्ट्रियता, परिवर्तन, स्थायित्व, विकास र समृद्धिका लागि दलहरू मिलेर काम गर्नुपर्छ । त्यसका लागि हाम्रो दल सहकार्य गर्न तयार छ’, उहाँले भन्नुभयो, ‘पछिल्लो चुनावबाट नागरिकको स्थायित्वको अपेक्षासहित राष्ट्रिय स्वतन्त्र पार्टीले झन्डै दुईतिहाइ मत प्राप्त गरेका हुन् । सुशासन, सेवा प्रवाह र रोजगारीका क्षेत्रमा नयाँ पुस्ताका आशा र अपेक्षालाई निराशामा परिणत हुन दिनुहुँदैन । त्यसका लागि यो महाधिवेशन सफल हुन सकोस् ।’

महासचिव पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने राजनीतिक दलहरूसँग संवाद गर्न अग्रसर भए पनि राष्ट्रिय समस्यामा सरकारले संवाद नगरेको टिप्पणी गर्नुभयो ।

जलवायु न्यायको प्रश्न पनि आजाको साझा प्रश्न भएकाले यसको सामनाका लागि पनि सबै एक ठाउँमा आउनुपर्ने महाचिव पोखरेलको भनाइ थियो ।

प्रकाशित मिति:
थप राजनीति