नेभिगेशन
सोमबार, असोज २६, २०८३

भोटेकोशी बाढी : बेपत्ता भएकाहरूको आधिकारिक विवरण यकिन गर्न विशेष प्रक्रिया निर्धारण

काठमाण्डाै – सरकारले रसुवाको भोटेकोशी बाढीमा परेर बेपत्ता भएका व्यक्तिहरूको आधिकारिक विवरण यकिन गर्न विशेष प्रक्रिया निर्धारण गरेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बेपत्ता व्यक्तिको स्थायी ठेगाना रहेका पालिका, जिल्ला विपद् समिति र प्राधिकरणमार्फत यो विवरण यकिन गरिनेछ ।

नेपाली नागरिकको हकमा सम्बन्धित पालिकाले वडा कार्यालयमार्फत बढीमा पाँच दिनको म्याद दिई निवेदन आह्वान गर्नेछन् । बेपत्ताका परिवारले नाता प्रमाणित र स्वघोषणासहित निवेदन दिनुपर्नेछ । परिवारका सदस्य नभएकाको हकमा भने स्थानीय प्रहरी र वडा सचिवको रोहबरमा सर्जमिन मुचुल्का उठाइनेछ ।

पालिकाले तीन दिनको दाबी विरोधको समय दिएपछि अन्तिम विवरण जिल्ला प्रशासन कार्यालयमा पठाउनेछन् । त्यसको पाँच दिनभित्र जिल्ला विपद् समितिले निर्णय गरी प्राधिकरण र प्रदेश मन्त्रालयमा विवरण पठाउने छ ।

यसैगरी बेपत्ता विदेशी नागरिकको हकमा भने परराष्ट्र मन्त्रालयमार्फत सम्बन्धित दूतावास तथा कूटनीतिक नियोगबाट विवरण प्रमाणित गराई मृत्यु घोषणाका लागि प्रक्रिया अघि बढाइने प्राधिकरणले जनाएको छ ।

सरकारले भोटेकोशी बाढीमा बेपत्ता भएकाहरूलाई पनि मृतक घोषणा गर्ने तयारी गरेको छ । 

प्रकाशित मिति:
थप समाज