नेभिगेशन
मंगलबार, असोज २७, २०८३

कांग्रेस खुला सहमहामन्त्रीमा खतिवडा र शिवाकाेटी निर्वाचित

काठमाण्डाै – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित हुनुभएकाे छ । पिछडिएको क्षेत्रबाट सहमहामन्त्रीमा जीवनबहादुर शाही निर्वाचित हुनुभएको छ ।

खतिवडाले २ हजार ९१९ मत र शिवाकोटीले २ हजार ७२ मत ल्यायर विजयी हुनुभयो । सहमहामन्त्री खुलातर्फ डिल्लीराम सुवेदीले १ हजार ८५१, देवेन्द्रराज कँडेलले १ हजार ३८२ र राजिव ढुङ्गानाले १ हजार २४१ मत पाए । यद्यपि केन्द्रीय निर्वाचन समितिले मतगणनाको अन्तिम नतिजा औपचारिक रूपमा घोषणा गरेको छैन ।

सहमहामन्त्री (खुलातर्फ) नौ जना उम्मेदवारहरू चुनावी प्रतिस्पर्धामा थिए । जनसम्पर्क समितितर्फका सात केन्द्रीय सदस्य निर्वाचित भएका छन् । यस समूहका दुई महिला केन्द्रीय सदस्यमा सीता सापकोटा घिमिरे र चन्द्रा अधिकारी निर्वाचित हुनुभएको छ । त्यस्तै जनसम्पर्क समितिको युरोप क्षेत्रबाट जितेन्द्रविक्रम शाही निर्वाचित हुनुभएको छ । ओसियाना–अमेरिका क्षेत्रबाट सीए विद्याभूषण कार्की, मध्यपूर्व क्षेत्रबाट पुरुषोत्तम खनाल निर्वाचित हुनुभएको छ । प्यासिफिक क्षेत्रबाट डा. बलराम श्रेष्ठ र भारत क्षेत्रबाट बालकृष्ण पाण्डे निर्वाचित हुनुभएको छ ।

कांग्रेसको केन्द्रीय सदस्यका अन्य समूहअन्तर्गत दलित, मधेशी, खस–आर्य, आदिवासी जनजाति, अल्पसङ्ख्यक, अपाङ्गता भएका व्यक्ति, पेशागत समूह तथा विभिन्न भौगोलिक क्षेत्रका पदमा मतगणना चलिरहेको छ ।

निर्वाचन समितिले भोलि बुधवारसम्म सबै पदको अन्तिम परिणाम सार्वजनिक गर्ने जनाएको छ ।

प्रकाशित मिति:
थप राजनीति