नेभिगेशन
मंगलबार, असोज २७, २०८३

संघीय सरकारप्रति ६ प्रदेशका मुख्यमन्त्रीको असन्तुष्टि

काठमाण्डौ - विराटनगरमा आजदेखि शुरु भएको अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनमा ६ वटा प्रदेशका मुख्यमन्त्रीहरूले संविधानप्रदत्त अधिकार कार्यान्वयनमा ढिलाइ गरेको भन्दै संघीय सरकारप्रति असन्तुष्टि जनाएका छन् । 

सम्मेलनमा कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको प्रभावकारितामै संघीयताको सफलता निर्भर रहने बताउनुभयो। गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शीर्ष नेतृत्व नै संघीयताप्रति इमानदार नदेखिएको आरोप लगाउनुभयो । लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशले संविधानअनुसारकै अधिकार कार्यान्वयन मात्र खोजेको बताउनुभयो । 

त्यस्तै, मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेश सबल नभएसम्म संघीयता सफल नहुने बताउनुभयो । बागमतीका मुख्यमन्त्री किरण थापा मगरले संविधानको परिकल्पना र व्यावहारिक कार्यान्वयनबीच ठूलो खाडल रहेको उल्लेख गर्नुभयो । कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीले अधिकार अभावले कर्णालीका चुनौती थप जटिल बनेको गुनासो गर्नुभयो । 

बजेट पारित गर्ने समस्या झेलिरहेका कारण सुदुरपश्चिमका मुख्यमन्त्री भने बैठकमा सहभागी बन्नुभएन । भोलिसम्म चल्ने सम्मेलनले प्रदेशका साझा समस्या पहिचान गरी अधिकार प्राप्तिका लागि साझा धारणा बनाउने तयारी छ । 

प्रकाशित मिति:
थप राजनीति