नेभिगेशन
बुधबार, असोज २८, २०८३

पोखरा–दुबई उडान : वर्ष दिनको टिकट बुकिङ खुला

काठमाण्डाै – फ्लाई दुबईले यही असोज ७ गतेदेखि शुरू गरेको दुबई–पोखरा–दुबई उडान सेवा नियमित र दिगो हुनेमा यहाँका पर्यटन व्यवसायी ढुक्क रहेका पाइएको छ ।

शुरूमा ६ महिनाका लागि टिकट बुकिङ खुला गरेको फ्लाई दुबईले सन् २०२७ अक्टोबर ३० सम्मलाई बुकिङ खुला गरेपछि उडान नियमित हुनेमा व्यवसायीलाई थप विश्वस्त तुल्याएको हो ।

फ्लाई नमस्ते ट्राभल्सका सञ्चालक पोमनारायण श्रेष्ठले दुबई–पोखरा–दुबई उडान शुरुआतमै उत्साहजनक रहेपछि फ्लाई दुबईले बुकिङ अवधि बढाएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘आउँदाे वर्षसम्मका लागि बुकिङ खुला भएपछि उडान नियमित सञ्चालन हुनेमा विश्वास थप बढेको छ, यो पोखराका पर्यटन व्यवसायीलगायत सबैका लागि सुखद विषय हो ।’

चाडबाडको समय भएकाले दुबईबाट पोखरा आउने यात्रुको तुलनामा पोखराबाट दुबई जानेको सङ्ख्या केही कम रहेको छ । चाडबाडपछि पोखराबाट दुबई जाने यात्रुको सङ्ख्या बढ्ने पर्यटन व्यवसायी श्रेष्ठले बताउनुभयो ।

पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्षसमेत रहनुभएका उहाँले फ्लाई दुबईको उडानलाई सफल बनाउन सबैपक्षको सहयोग र सहकार्यको खाँचो रहेको बताउनुभयो ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, नागरिक उड्डयन कार्यालयका सूचना अधिकारी विनोदसिंह रावतले असोज ७ गतेयता प्रतिकूल मौसमका कारण फ्लाई दुबईको एउटा उडान रद्द भए पनि अन्य दिन नियमित उडान भइरहेको बताउनुभयो ।

फ्लाई दुबईको उडान तालिका अनुसार जहाज हरेक दिन बेलुका सवा ६ बजे पोखरा अवतरण र बेलुका सवा ७ बजे दुबई प्रस्थान गर्दै आएको छ ।

गएकाे सोमवारसम्ममा फ्लाई दुबईको उडानमार्फत ३ हजार ११३ यात्रु दुबईबाट पोखरा आएका र पोखराबाट १ हजार ४२३ यात्रु दुबई प्रस्थान गरेका छन् ।

टिकट बुकिङ उत्साहजनक रहेपछि टुर्स एन्ड ट्राभल्स व्यवसायीमा पनि उडान नियमित हुनेमा आशा जागेको छ । यस उडानबाट आउने यात्रुलाई लक्षित गरी होटल, रेस्टुरेन्टले विभिन्न सहुलियत योजना ल्याएका छन् ।

फ्लाई दुबईले अहिले १६५ यात्रु क्षमताको बोइङ ७३७ म्याक्स ८ जहाजमार्फत दुबई–पोखरा–दुबई उडान गर्दै आएको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान शुरू गर्ने फ्लाई दुबई पहिलो वायुसेवा कम्पनी हो ।

यसअघि केही वायुसेवा कम्पनीले पोखराबाट अन्तर्राष्ट्रिय गन्तव्यमा चार्टर्ड उडान गरेका थिए । फ्लाई दुबईको उडान शुरू भएसँगै दुबईलाई ‘ट्रान्जिट’ बनाएर विश्वका धेरै देशसँग पोखराको हवाई सञ्जाल विस्तार भएको छ । त्यसबाट दीर्घकालीन रूपमा पोखराको पर्यटन, व्यवसाय, रोजगारी र समग्र आर्थिक गतिविधिका महत्त्वपूर्ण टेवा पुग्ने विश्वास लिइएको छ ।

सन् २०२३ जनवरीदेखि सञ्चालनमा आएको यस विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको थिएन । सरकारले चालू आर्थिक वर्षकाे नीति तथा कार्यक्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय वायुसेवा प्रदायकलाई आकर्षित गर्न कूटनीतिक पहल गर्ने जनाएको केही समयमै फ्लाई दुबईले उडान शुरू गरेको हो । दुबई–पोखरा–दुबई उडानका लागि गएकाे जेठ २५ गते नेपाल नागरिक उड्डयन प्राधिकरणले फ्लाई दुबईलाई अनुमति दिएको थियो ।

सरकारले अन्तर्राष्ट्रिय उडानका लागि वायुसेवा कम्पनीलाई आकर्षित गर्न विमानस्थलमा लाग्ने विभिन्न शुल्कमा छुट दिएको छ । विसं २०८५ भदौ मसान्तसम्मका लागि विमानस्थलमा पार्किङ, ल्यान्डिङ र नेभिगेशन शुल्क पूर्णरूपमा छुट दिइएको छ । यस्तै ग्राउन्ड ह्यान्डलिङ शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था छ । 

प्रकाशित मिति:
थप अर्थ