हरेक वर्ष विश्वभर एक अर्ब टनभन्दा धेरै खाना खेर जाने गरेको प्रतिवेदन सार्वजनिक भएको छ । हरेक ५ प्लेट खानामध्ये झन्डै १ प्लेट फोहोरमा फालिने गरेको संयुक्त राष्ट्रसङ्घको प्रतिवेदनलाई उद्धृत गर्दै समाचार संस्था अलजजीराले जनाएको छ ।
गएको वर्ष सन् २०२५ मा ६४ करोड ५० लाख मानिस भोकै रहेका प्रतिवेदनमा उल्लेख छ । यो विश्वको जनसङ्ख्याको झन्डै १३ जनामध्ये १ जना हुन् ।
विश्व खाद्य दिवसका दिन आज यो प्रतिवेदन सार्वजनिक भएको हो । सन् १९४५ मा ’खाद्य तथा कृषि सङ्गठन स्थापना भएको सम्झनामा संयुक्त राष्ट्रसङ्घले हरेक वर्ष अक्टोबर १६ मा यो दिवस मनाउँदै आएको छ ।
विश्वव्यापी भोकमरी लगातार तेस्रो वर्ष घटेको छ तर यो कोभिड–१९ महामारीअघिको स्तरभन्दा माथि नै रहेको प्रतिवेदनमा उल्लेख छ ।
यस वर्षको नारा —आज नवीनता, भोलि पोषण भन्ने रहेको छ । यसले धेरैभन्दा धेरै मानिसलाई खुवाउन सकियोस् र कमभन्दा कम खाद्य पदार्थ खेर जाओस् भन्ने प्रणालीको आह्वान गरेको छ ।
संयुक्त राष्ट्रसङ्घको ’विश्वमा खाद्य सुरक्षा र पोषणको अवस्था’ सम्बन्धी वार्षिक प्रतिवेदनअनुसार गएको वर्ष सन् २०२५ मा झन्डै ६४ करोड ५० लाख मानिस भोकको समस्याबाट गुज्रिएका थिए ।
यो विश्वको कुल जनसङ्ख्याको ७.८ प्रतिशत हो । यो सङ्ख्या सन् २०२४ को ८.१ प्रतिशत र सन् २०२२ को उच्च विन्दु ८.६ प्रतिशतको तुलनामा कम भए पनि सन् २०१९ को तुलनामा अझै पनि झन्डै ६ करोड १० लाखभन्दा धेरै मानिस यस समस्याबाट प्रभावित छन् ।
प्रतिवेदनअनुसार अफ्रिकामा भोका मानिसहरूको सङ्ख्या धेरै छ । सन् २०२५ मा अफ्रिकामा झन्डै ३० करोड ९० लाख मानिस कुपोषित थिए । यो सङ्ख्या महादेशका हरेक पाँच जनामध्ये एक जना बराबर हो र विश्वभरका भोका मानिसहरूको झन्डै आधा हिस्सा हो ।
यस्तै एशियामा २९ करोड २० लाख मानिस (जनसङ्ख्याको ६ प्रतिशत) तथा ल्याटिन अमेरिका र क्यारिबियन क्षेत्रमा ३ करोड २० लाख मानिसहरू (४.८ प्रतिशत) कुपोषित थिए ।
माल्दिभ्समा सबैभन्दा धेरै खाना खेर जाने गरेको छ, त्यहाँ प्रतिव्यक्ति वार्षिक झन्डै २६० केजी खाना खेर जान्छ । यो विश्वव्यापी औसतभन्दा झन्डै दोब्बर हो ।
यसपछि सिरिया, डोमिनिकन रिपब्लिक, सेसेल्स, मेक्सिको र ट्युनिसिया आउँछन् जहाँ प्रतिव्यक्ति २१० केजीभन्दा धेरै खाना खेर जान्छ ।
संयुक्त राष्ट्रसङ्घका अनुसार स्पेनमा सबैभन्दा कम खाना खेर जाने गरेको छ, त्यहाँ प्रतिव्यक्ति झन्डै ३९ केजी वा त्योभन्दा कम खाना खेर जाने गरेकाे छ ।
खाद्य नोक्सानी र खेर जाने खाद्य पदार्थका कारण विश्व अर्थतन्त्रलाई वार्षिक १ ट्रिलियन डलरभन्दा धेरैको नोक्सानी हुने गरेको प्रतिवेदनमा उल्लेख छ ।