नेभिगेशन
आइतबार, कात्तिक १, २०८३

चाडबाडमा अनलाइन ठगीबाट बच्न ओटीपी र पासवर्ड गोप्य राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ – दशैँ, तिहार लगायत चाडपर्वका बेला अनलाइन ठगी हुन सक्ने भएकाले सावधानी अपनाउन नेपाल राष्ट्र बैंकले आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय जानकारी इकाइले अनलाइन ठगीबाट बच्न ओटीपी र पासवर्ड अरुलाई नदिन भनेको हो ।

दशैँ धमाका, तिहार छठ बम्पर उपहार वा आकर्षक उपहार जितेको भन्दै सामाजिक सञ्जालमार्फत नक्कली लिंक पठाउने र सेवा शुल्क वा करका नाममा अग्रिम रकम माग्ने प्रवृत्ति देखिन सक्ने हुँदा होशियार हुन राष्ट्र बैंकको सुझाव छ ।

सामाजिक सञ्जालमा ब्रान्डेड सामानमा भारी छुट दिने विज्ञापन राखेर अग्रिम भुक्तानी माग्ने र रकम लिएपछि सामान नपठाउने वा ग्राहकलाई ब्लक गर्ने घटनाबाट पनि सावधान रहन भनिएको छ । राष्ट्र बैंकले मोबाइलमा आउने ओटीपी, बैंक खाताको पासवर्ड तथा डिजिटल वालेटको पिन कसैलाई पनि नदिन आग्रह गरेको छ ।

सामाजिक सञ्जालमा आउने निःशुल्क रिचार्ज, चिट्ठा परेको वा नक्कली उपहार सम्बन्धी शङ्कास्पद लिंक नखोल्न पनि भनेको छ । अनलाइनबाट सामान खरिद गर्दा आधिकारिक र विश्वसनीय वेबसाइट मात्र प्रयोग गर्न तथा सम्भव भएसम्म सामान प्राप्त भएपछि भुक्तानी गर्ने विकल्प रोज्न इकाइले आग्रह गरेको छ ।

डिजिटल भुक्तानी गर्नुअघि सम्बन्धित वेबसाइटको ठेगाना सही भए–नभएको जाँच गर्न पनि राष्ट्र बैंकले भनेको छ ।

NRB-release-1-1792195406.jpg
 

प्रकाशित मिति:
थप अर्थ