नेभिगेशन
आइतबार, कात्तिक १, २०८३

कालीगण्डकी करिडोर २२० प्रसारण लाइन २१ दिनपछि सञ्चालन

काठमाण्डौ - गएको असोज ११ मा वर्षासँगै आएको बाढी पहिरो र कालीगण्डकी नदीको कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनअन्तर्गतको म्याग्दीको दाना–राहुघाट खण्ड २१ दिनपछि सञ्चालनमा आएको छ ।

नेपाल विद्युत् प्राधिकरणले आपतकालीन पुनः स्थापना प्रणाली (इआरएस) टावर प्रयोग गरी अस्थायी रूपमा सञ्चालनमा ल्याएको हो । गएराति प्रसारण लाइनको २२० केभीको एउटा सर्किटलाई चार्ज गरी अस्थायी रूपमा सञ्चालनमा ल्याइएको प्राधिकरणले जनाएको छ । बाढीले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, पोखरेबगरमा प्रसारण लाइनका चार वटा टावरमा क्षति पुर्‍याएको थियो । तीमध्ये टावर नम्बर २१, २३ र २४ पूर्ण रूपमा क्षतिग्रस्त भएका थिए भने टावर नम्बर २२ मा आंशिक क्षति थियो ।

प्रसारण लाइन अवरुद्ध भएपछि दाना सब स्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएका निजी क्षेत्रका पाँच जलविद्युत् आयोजनाबाट उत्पादित कुल १७० मेगावाट विद्युत् राष्ट्रिय प्रणालीमा प्रवाह हुन सकेको थिएन । लाइन सञ्चालनमा आएसँगै ती आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा पुनः जोडिएको छ । प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले इआरएस टावर प्रयोग गरी प्रसारण लाइन अस्थायी रूपमा सञ्चालनमा ल्याउन सफलता मिलेको बताउनुभयो ।

भौगोलिक रूपमा अत्यन्त जटिल र दुर्गम ठाउँमा इआरएस टावर जडान गर्नु चुनौतीपूर्ण भए पनि निरन्तरको प्रयासबाट काम सम्पन्न गर्न सकिएको उहाँले बताउनुभयो । प्राधिकरणको पोखरा ग्रिड महाशाखाका प्रमुख रोशन खड्काका अनुसार इआरएस टावरमार्फत प्रसारण लाइन सञ्चालनमा ल्याइएपछि बाढीले क्षति पुर्‍याएका टावरको स्थायी पुनर्निर्माण प्रक्रिया अगाडि बढाइएको छ । स्थायी टावर निर्माण सम्पन्न भएपछि प्रसारण लाइनको दाना–राहुघाट खण्ड नियमित अवस्थामा सञ्चालनमा आउनेछ ।

कालीगण्डकी र यसका सहायक नदीमा निर्माण हुने जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् एकीकृत गरी राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गर्ने उद्देश्यले कालीगण्डकी करिडोर २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माण गरिएको हो । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना सब स्टेसनबाट शुरु भई पर्वत, बागलुङ, स्याङ्जा, पाल्पा र रुपन्देही हुँदै नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सुनवल नगरपालिका–१३ नयाँ बुटवल सब स्टेसनसम्म पुग्ने यो प्रसारण लाइनको कुल लम्बाइ झण्डै १३० किलोमिटर छ । प्रसारण लाइनले झण्डै एक हजार २ सय मेगावाट विद्युत् प्रवाह गर्न सक्ने क्षमता राख्छ ।

प्रकाशित मिति:
थप समाज