नेभिगेशन
मंगलबार, कात्तिक ३, २०८३

तातोपानी नाका नियमित सञ्चालनको माग : दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

काठमाण्डौ – कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको नेपाल–चीनको तातोपानी नाकालाई नियमित रुपमा सञ्चालनमा ल्याउन माग गरिएको छ ।

नेपाल हिमालय सीमापार वाणिज्य संघका महासचिव रामचन्द्र पराजुलीले यो नाका आज मंगलबारसहित तीन दिन मात्रै सञ्चालन हुने भएकाले चाडपर्व लक्षित गरी ल्याएका सामग्री उतै रहने जोखिम बढेको बताउनुभएको छ ।

चीनको न्यालम क्षेत्रमा दशैं, तिहारलगायतका चाडपर्वलक्षित सामान बोकेका ४५ वटा भन्दा धेरै कन्टेनरहरू रोकिएका छन् । अस्थायी रुपमा तीन दिनमात्रै सञ्चालनमा आएको नाकाबाट ती सामान ल्याउन सम्भव नरहेकाले नियमित रुपमा सञ्चालन आवश्यक रहेको उहाँले बताउनुभयो ।

महासचिव पराजुलीका अनुसार संघले चीन सरकार र नेपालमा रहेको चिनियाँ दूतावासलाई ध्यानाकर्षण पत्र बुझाएर नाका निरन्तर सञ्चालनको माग गरिसकेको छ । उहाँका अनुसार चाडपर्व लक्षित सामान बोकेका कन्टेनरहरू सीमामा रोकिएका छन्, यी सामानहरूमध्ये ठूलो हिस्सा नाशवान् वस्तुहरू, कृषि उत्पादनहरू तथा मौसमी व्यापारिक सामग्रीको रहेको छ, जुन तत्काल बिग्रने जोखिममा छन् ।

अन्य नाकाहरु सञ्चालन नभएको अवस्थामा दुई देशबीचको व्यापारलाई सहज बनाउन सिन्धुपाल्चोकको तातोपानी नाका पूर्ण रुपमा सञ्चालन हुन आवश्यक रहेको  उहाँको भनाइ छ ।

तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत नरेन्द्रसिंह चैसिरका अनुसार नाकाबाट अस्ति आइतबार तीन वटा मालवाहक कन्टेनर र हिजो सोमबार सात वटा गरि १० वटा मात्रै कन्टेनर आएका छन् ।

सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माकाअनुसार अहिलेलाई  ठुला मालवाहक कन्टेनरलाई मात्रै  चीनले अनुमति दिएका कारण साना कन्टेनर आउन सकेका छैनन् । भित्रिएका कन्टेनरहरुमा फलफूल, जुत्ता, तयारी पोशाक र कृषिजन्य सामग्रीहरु रहेका छन् ।

प्रकाशित मिति:
थप अर्थ