नेभिगेशन
शुक्रबार, कात्तिक ६, २०८३

हानी नोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान दिने निर्णय

काठमाण्डौ - जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढी प्रभावितका लागि हानी तथा नोक्सानीको सम्बोधनसम्बन्धी कोष (एफआरएलडी) को पहिलो विशेष बोर्ड बैठकले नेपालका लागि २ करोड अमेरिकी डलर र अनुगमन शुल्कबापत १६ लाख अमेरिकी डलर गरी कुल २ करोड १६ लाख अमेरिकी डलर छुट्याउने निर्णय गरेको छ ।

यो रकम झण्डै ३ अर्ब २६ करोड रुपैयाँ बराबर हो । हिजो बेलुका बसेको बोर्डको विशेष आकस्मिक बैठकले रकम उपलब्ध गराउने निर्णय गरेको हो । विशेष बैठकले बाढी प्रभावित समुदायको राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका लागि नेपाललाई अनुदान उपलब्ध गराउने निर्णय गरेको कृषि, वन तथा पर्यावरण मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहसचिव एवम् जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका प्रमुख डा. महेश्वर ढकालका अनुसार बाढीबाट भएको मानवीय तथा आर्थिक क्षतिलाई सम्बोधन गर्न नेपाल सरकारले गएको अगस्ट ३१ मा कोषको बोर्डसमक्ष सहयोगका लागि अनुरोध गरेको थियो ।

कोषको निर्णयअनुसार नेपालले भोटेकोशी क्षेत्रको बाढीबाट प्रभावित समुदायलाई लक्षित गरी छुट्टै आयोजना प्रस्ताव तयार गरी पेस गर्नुपर्ने उहाँले बताउनुभएको छ । कोषको प्रचलित कार्यविधिअनुसार प्रस्ताव स्वीकृत भएपछि प्रभावित समुदायका लागि आवश्यक कार्यक्रम सञ्चालन गर्न सकिनेछ । मन्त्रालयका अनुसार गएको भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट १५ हजार घरपरिवारका ६० हजारभन्दा बढी व्यक्ति प्रत्यक्ष प्रभावित भएका छन् ।

यो विपद्बाट एक हजार ५ सय भन्दा धेरैले ज्यान गुमाएका तथा पाँच हजारभन्दा धेरै व्यक्ति बेपत्ता भएका प्रारम्भिक विवरण छ । बाढीबाट भएको प्रारम्भिक आर्थिक क्षति दुई अर्ब ७० करोड अमेरिकी डलर बराबर रहेको र पुनर्निर्माणका लागि चार अर्ब ७० करोड अमेरिकी डलर आवश्यक पर्ने अनुमान गरिएको कृषि मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति:
थप अर्थ