नेभिगेशन
शुक्रबार, कात्तिक २०, २०८३

चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू, पटका तथा आतसबाजी नगर्न प्रहरीको अनुरोध

काठमाण्डौ – नेपाल प्रहरीले दीपावली, नेपाल संवत् र छठ पर्वलाई लक्षित गर्दै देशभर विशेष सुरक्षा योजना लागू गरेको छ । चाडपर्वका समयमा शान्तिसुरक्षा कायम राख्नुका साथै चोरी, ठगी, लुटपाट, जुवातास तथा अन्य आपराधिक गतिविधि नियन्त्रण गर्न सुरक्षा परिचालन तीव्र बनाएको प्रहरीले जनाएको छ ।

प्रहरीले देउसीभैलो कार्यक्रम स्थानीय प्रशासनले तोकेको समयभित्र मर्यादित रूपमा सञ्चालन गर्न आग्रह गरेको छ । केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अबिनारायण काफ्लेले सीमा नाका, भन्सार क्षेत्र, सार्वजनिक यातायात र मुख्य बजारमा विशेष जाँच तथा अनुगमन टोली परिचालन गरिएको जानकारी दिनुभयो ।

काठमाण्डौ उपत्यकाबाट बाहिरिने गाडीका चालकको अनुमतिपत्र, जाँडरक्सी खाएको, यात्रु क्षमताको अवस्था, दुई चालकको व्यवस्था र गाडीको यान्त्रिक अवस्थासमेत जाँच गरिने प्रहरीले जनाएको छ । 

यसैबीच प्रहरीले तिहारलाई सुरक्षित, मर्यादित र शान्तिपूर्ण रूपमा मनाउन पटका, आतसबाजी तथा अन्य विस्फोटक पदार्थको प्रयोग नगर्न आमनागरिकसँग अनुरोध गरेको छ ।

पटका तथा विस्फोटक पदार्थको प्रयोगले आगलागी, मानवीय क्षति र वातावरणीय प्रदूषणको जोखिम बढाउने भन्दै प्रहरीले चाडपर्वका बेला विशेष सावधानी अपनाउन आग्रह गरेको हो ।

विशेषगरी बालबालिका तथा ज्येष्ठ नागरिकलाई लक्षित गरी पटका तथा आतसबाजीको प्रयोगबाट टाढा रहन प्रहरीले आग्रह गरेको छ । 

प्रकाशित मिति:
थप समाज