काठमाण्डौ – सरकारले यस वर्षको शीतलहर र हिमपातबाट हुनसक्ने जनधनको क्षति न्यूनीकरण गर्न पूर्वतयारी थालेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हिउँदे मौसममा तराईमा शीतलहर तथा उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको जोखिमलाई ध्यानमा राख्दै आवश्यक तयारी अघि बढाएको हो ।
प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले शीतलहर र हिमपातलाई सामान्य मौसमी अवस्थाका रूपमा मात्र लिन नहुने बताउनुभएको छ । उहाँले सम्भावित जोखिमबाट जनधनको क्षति हुन नदिन समयमै पूर्वतयारी र प्रतिकार्य योजना बनाउनुपर्नेमा जोड दिनुभयो ।
मध्य मङ्सिरदेखि मध्य फागुनसम्म तराईमा शीतलहर, कुहिरो र हुस्सु तथा उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको जोखिम रहने उहाँले बताउनुभयो । लगातार चिसो बढ्ने, तापक्रममा उतारचढाव कम हुने र बाक्लो हुस्सु लाग्ने अवस्थाले जनजीवन प्रभावित पार्न सक्ने उहाँको भनाइ छ ।
शीतलहरसँगै वायु प्रदूषणको जोखिमसमेत बढ्ने भएकाले स्वास्थ्य सुरक्षामा विशेष ध्यान दिनुपर्ने प्राधिकरणले जनाएको छ । वायु प्रदूषण बढेर अवस्था गम्भीर बनेमा विद्यालय बन्द गर्ने, गाडीमा जोरबिजोर प्रणाली लागू गर्ने र निर्माण कार्य रोक्नेसम्मका उपाय अपनाउनुपर्ने कार्यकारी प्रमुख उप्रेतीले बताउनुभयो । उहाँका अनुसार बाक्लो हुस्सु र तुवाँलोका कारण हवाई तथा सडक यातायात प्रभावित हुनुका साथै दुर्घटनाको जोखिम पनि बढ्छ ।
कतिपय अवस्थामा दृश्यता ५० मिटरसम्म सीमित हुने भएकाले गाडी सञ्चालन र हवाई उडानमा विशेष सतर्कता अपनाउनुपर्ने उहाँले बताउनुभयो । त्यस्तै, उच्च हिमाली क्षेत्र तथा दुई हजारदेखि दुई हजार पाँच सय मिटरभन्दा माथिका भूभागमा हिमपात हुनसक्ने भएकाले स्थानीय बासिन्दा, पर्यटक र यात्रुको सुरक्षाका लागि आवश्यक तयारी गर्नुपर्ने उहाँको भनाइ छ ।
शीतलहरका बेला गर्भवती, नवजात शिशु, बालबालिका, ज्येष्ठ नागरिक र दीर्घरोगीलाई चिसोबाट जोगाउन विशेष ध्यान दिनुपर्ने उहाँले बताउनुभयो। जोखिमयुक्त क्षेत्रमा दाउरा वितरण गर्ने तथा विपन्न परिवारलाई न्यानो कपडा र कम्बल उपलब्ध गराउने तयारी गर्न पनि उहाँले सम्बन्धित निकायलाई आग्रह गर्नुभयो ।