नेभिगेशन
शुक्रबार, कात्तिक २०, २०८३

जनकपुरधाम–अयोध्या रेल सेवाको परीक्षण

काठमाण्डौ – जनकपुरधामबाट भारतको पवित्र तीर्थस्थल अयोध्यासम्म सञ्चालन हुने विशेष रेल सेवाको हिजो परीक्षण गरिएको छ । प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भम्रणको क्रममा दुवै देशका प्रधानमन्त्रीले संयुक्त रूपमा यो विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी छ ।

यही तयारी स्वरुप दुई इञ्जिन र सात डिब्बा भएको भारतीय विशेष रेल सेवाको रेल भारतको अयोध्याबाट धनुषाको कुर्थासम्म परीक्षण गरिएको नेपाल रेल्वे कम्पनीले जनाएको छ । कम्पनीका अनुसार नेपालतर्फको रेलखण्डमा नेपाली सुरक्षा निकाय तथा भारततर्फ भारतीय सुरक्षा निकायले यात्रु र रेल सुरक्षाको जिम्मेवारी लिने विषयमा सैद्धान्तिक सहमति भएको छ ।

जनकपुरधाम र अयोध्याबीच रेल सेवा सञ्चालनमा आएपछि दुई देशबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्ध थप सुदृढ हुनाका साथै धार्मिक पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ । सीताको जन्मभूमि जनकपुरधाम र भगवान रामको नगरी अयोध्यालाई प्रत्यक्ष रेल सेवामार्फत जोडिएपछि रामायण सर्किटअन्तर्गत तीर्थयात्री तथा धार्मिक पर्यटकको आवागमन थप सहज हुने विश्वास छ ।

जनकपुर र अयोध्या रामायणसँग जोडिएका दुई महत्वपूर्ण धार्मिक शहर हुन् । हिन्दू धार्मिक मान्यता अनुसार जनकपुरलाई सीताको जन्मभूमि र अयोध्यालाई रामको जन्मभूमिका रूपमा लिइन्छ । यी दुई शहरको धार्मिक र सांस्कृतिक सम्बन्ध सदियौंदेखि रहँदै आएको छ ।

अहिले भारतको जयनगरदेखि नेपालको जनकपुरधाम हुँदै महोत्तरीको बिजलपुरासम्म नियमित रेल सेवा सञ्चालन हुँदै आएको छ ।

प्रकाशित मिति:
थप समाज