नेभिगेशन
बुधबार, कात्तिक २५, २०८३

भाइटीकासँगै दाजुभाइ र दिदीबहिनीको सम्झना

काठमाण्डौ - लमजुङ बेँसीसहर नगरपालिका–८ की पुष्पा श्रेष्ठलाई तिहार अर्थात् आज मुख्य दिन भाइटीकामा आफ्ना दाजुभाइको सम्झना आउँछ । रोजगारीका सिलसिलामा तीन वर्षदेखि दुबईमा रहेकी उहाँले देशबाहिर हुँदा दाजुभाइलाई भाइटीका लगाउन पाउनुभएको छैन ।
यसपालि घर फर्किएर टीका लगाउने इच्छा भए पनि पूरा हुन सकेन । ‘धेरै वर्ष भयो दाजुभाइलाई भाइटीका लगाउन नपाएको, श्रेष्ठले भन्नुभयो,‘ यस पटक पनि सम्भव भएन ।’ तिहार उज्यालो, उमङ्ग र आत्मीयताको पर्व हो । यस पर्वको अन्तिम दिन मनाइने भाइटीका दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र अटुट सम्बन्धको प्रतीक मानिन्छ ।

दिदीबहिनीले दाजुभाइको दीर्घायु, सुस्वास्थ्य र सुख, समृद्धिको कामना गर्दै सप्तरङ्गी टीका र मखमली माला लगाइदिने परम्परा छ । तर रोजगारी र पारिवारिक जिम्मेवारीका कारण परदेशिएका धेरै नेपालीका लागि भाइटीका प्रत्यक्ष भेटघाटभन्दा सम्झना र शुभकामना आदानप्रदानमै सीमित हुन थालेको छ ।

दोर्दी गाउँपालिकाका अमृत घिमिरेको अनुभव पनि उस्तै छ । उहाँ तीन वर्षदेखि रोजगारीका सिलसिलामा भारतमा हुनुहुन्छ । अरूले भाइटीका लगाएको देख्छु आफ्नो निधार खाली हुँदा निकै नरमाइलो लाग्छ घिमिरेले भन्नुभयो । घरमा परिवारका सदस्यले भाइटीका लगाएको दृश्य मोबाइलमार्फत हेर्ने र कुराकानी गरेर चित्त बुझाउने गरेको उहाँ बताउनुहुन्छ ।

यस वर्षसमेत टीका लगाउन नपाएपछि भिडियो कलमार्फत परिवारसँग जोडिएर पर्वको खुसी साट्ने उहाँको योजना छ । यस्तै अनुभवले वैदेशिक रोजगारी र बसाइसराइले नेपाली परिवारको चाडपर्व मनाउने शैलीमा ल्याएको परिवर्तन झल्किन्छ । एकातिर परिवारको आर्थिक अवस्था सुधार्ने सपना बोकेर विदेशिएका दाजुभाइ तथा दिदीबहिनी छन् भने अर्कातिर घरमा बसेर उनीहरूको प्रतीक्षामा रहेका आफन्त छन् ।

प्रविधिको विकाससँगै टाढा रहेका आफन्तले भिडियो कलमार्फत कुराकानी र शुभकामना आदानप्रदान गर्ने गरेका छन् । 

प्रकाशित मिति:
थप समाज