नेभिगेशन
बुधबार, कात्तिक २५, २०८३

मधेशका मुख्यमन्त्री यादवले कात्तिक २८ गते विश्वासको मत लिने

मधेशका मुख्यमन्त्री यादवले कात्तिक २८ गते विश्वासको मत लिने

मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आउँदो शनिवार कात्तिक २८ गते दिउँसाे १ बजे प्रदेशसभामा विश्वासको मत लिनुहुने भएको छ ।
प्रदेश सरकारमा सहभागी नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिन लाग्नुभएको हो ।

विश्वासको मत लिनका लागि प्रदेशसभाको बैठक बोलाउन प्रदेशसभा सचिवालयलाई पत्राचार गर्न लागिएको मुख्यमन्त्री यादवले बताउनुभएकाे छ ।

नेपाली कांग्रेस नेतृत्वको सरकारमा सहभागी नेकपा एमालेका चार जना मन्त्रीले गएको असोज २५ गते सामूहिक राजीनामा दिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।

यस्तै सरकारमा सहभागी नेकपाका चार जना मन्त्रीले यही कात्तिक २० गते राजीनामा दिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।

सत्तारूढ दुई दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले सरकार जोगाउन सक्रियता बढाउनुभएको छ । १०७ सदस्यीय मधेश प्रदेशसभामा सरकार गठनका लागि कम्तीमा ५४ प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्छ ।

मधेश प्रदेशसभामा नेपाली कांग्रेसका २२, एमालेका २३, जनता समाजवादी पार्टी (जसपा) नेपालका २७, नेकपाका १५ र जनमत पार्टीका १२ सदस्य छन् । त्यस्तै सङ्घीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का एक–एक सदस्य छन् ।

प्रकाशित मिति:
थप राजनीति