नेभिगेशन
बुधबार, कात्तिक २५, २०८३

तिहारकाे अन्तिम दिन भाइटीका लगाइयाे

काठमाण्डाै – यमपञ्चक अर्थात् तिहारको मुख्य दिन आज भाइटीका मनाइएको छ । दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले बहिनी शारदा पण्डितबाट बिहान ११ बजेर ७ मिनेटको शुभसाइतमा विधिपूर्वक तिहारको टीका लगाउनुभएको छ । बिहान ११ बजेर ७ मिनेटको उत्तम साइतमा धेरैले भाइटीका लगाएका छन् भने समय अनुकूल बनाएर बिहानदेखि बेलुकासम्म नै भाइटीका लगाउने काम भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । यसरी पूजा गरी टीका लगाउनाले सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको छ ।

लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्पराअनुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री र गोदावरीलगायतका फूलका माला लगाइदिने गरिन्छ ।

टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला एवम् सेलरोटीलगायतका खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवम् सामाजिक परम्परा छ ।

नेपालीहरूको दोस्रो ठूलो चाड तिहार र दक्षिण एशियाली देशहरूमा दीपावलीका रूपमा मनाइने उज्यालोको पर्वले पछिल्लो समय अन्तर्राष्ट्रिय मञ्चमा विशेष महत्त्व पाउन थालेको छ । संसारभर फैलिएका नेपाली र दक्षिण एशियाली समुदायका कारण यो पर्व विश्वव्यापी बन्दै गएको हो ।

यस वर्ष अस्ट्रेलियाका प्रधानमन्त्री एन्थाेनी अल्बानिजले सिड्नीमा ढाका टोपी र नेपालको झन्डा अङ्कित गलबन्दी लगाएर नेपाली समुदायसँग तिहार मनाउनुभएको छ । सामाजिक सञ्जालमा तस्वीर पोस्ट गर्दै उहाँले विविधता नै आफूहरूको शक्ति भएको उल्लेख गर्नुभयो ।

त्यस्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइटहाउसमा दिपावली मनाउँदै सम्पूर्ण अमेरिकीहरूमा आशा र उज्यालो छाओस् भनी शुभकामना व्यक्त गर्नुभएको छ ।

ब्रिटिश र क्यानाडाली प्रधानमन्त्रीका साथै न्युयोर्कका मेयरले समेत दीपावलीको शुभकामना सन्देश जारी गर्नुभएको छ ।

संस्कृतिविद्हरूका अनुसार तिहार र दीपावली पर्व प्रकृति, पर्यावरण र जीवजन्तुको पूजासँग जोडिएकाले विश्वभर अनुकरणीय बन्दै गएको हो । साथै देउसी–भैलो, दीप प्रज्ज्वलन र भ्रातृत्वको सन्देशले पनि विदेशीहरूलाई आकर्षित गरेको छ ।

पछिल्लो समय वैदेशिक रोजगारी, अध्ययन र स्थायी बसाइँसराइका कारण लाखौँ नेपालीहरू विश्वका २३० भन्दा धेरै देशमा पुगेका छन् । डायस्पोरामा नेपालीहरूको उपस्थिति बाक्लिँदै जाँदा हाम्रा मौलिक पर्वहरूले पनि विश्वभर पहिचान र सम्मान पाउन थालेका हुन् ।

प्रकाशित मिति:
थप समाज