नेभिगेशन
बिहीबार, कात्तिक २६, २०८३

पोखरामा भाइटीका महोत्सव, १५ देशका ५१ जना पर्यटक सहभागी

काठमाण्डौ - तिहारको सांस्कृतिक रौनकमा सहभागी हुँदै पोखरा आएका विदेशी पर्यटकले भाइटीका मनाएका छन् ।

होटल सङ्घ पोखरा नेपालको आयोजनामा पोखरा–६, लेक साइडमा हिजो भाइटीकाका दिन आयोजित १९औँ भाइटीका महोत्सवमा १५ देशका ५१ जना विदेशी पर्यटक सहभागी भएका थिए ।

महोत्सवमा रेन्वो चिल्ड्रेन होम नेपालका छात्राहरूले विदेशी पर्यटकलाई टीका र माला लगाइदिएर भाइटीका मनाएका हुन् । नेपाली परम्पराअनुसार भाइटीका लगाउन पाउँदा पर्यटक उत्साहित देखिन्थे । उनीहरूले देउसी भैलो, नाचगान र सांस्कृतिक प्रस्तुतिमा सहभागी हुँदै नेपाली परिकार सेल रोटीको स्वादसमेत लिए । टीका लगाएपछि महिला पर्यटकलाई पछ्यौरा र पुरुष पर्यटकलाई ढाकाटोपी उपहार प्रदान गरिएको थियो ।

अमेरिका, बेलायत, चीन, जापान र अस्ट्रेलियालगायत १५ देशका पर्यटक सहभागी महोत्सवले विदेशीलाई नेपाली चाडपर्व र संस्कृतिको प्रत्यक्ष अनुभव गराउने अवसर जुटाएको आयोजकले जनाएको छ । महोत्सवमा सहभागी लिथुआनियाकी पर्यटक मोनिकाले नेपालीको आत्मीय व्यवहार र तिहार मनाउने शैली आफूलाई निकै मन परेको बताउनुभयो ।

होटल सङ्घ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले भाइटीका महोत्सवलाई निरन्तरता दिँदै आएपछि पोखराका विभिन्न होटलमा समेत विदेशी पर्यटकलाई टीका लगाउने कार्यक्रम हुन थालेको बताउनुभयो । नेपाली संस्कृतिमार्फत पर्यटन प्रवर्द्धन गर्नुका साथै आपसी भाइचारा र सांस्कृतिक सम्बन्ध अभिवृद्धि गर्नु महोत्सवको मुख्य उद्देश्य रहेको उहाँले बताउनुभयो । यसबाट नेपालको संस्कृति र परम्परालाई विश्वमाझ चिनाउन सहयोग पुगेको अध्यक्ष सुवेदीले बताउनुभएको छ ।

भाइटीका महोत्सवलाई नेपाल पर्यटन बोर्ड गण्डकी र पोखरा महानगरपालिकाले प्रवर्द्धन गर्दै आएको छ । 

प्रकाशित मिति:
थप समाज