नेभिगेशन
शनिबार, कात्तिक २८, २०८३

छठ पर्वको दोस्रो दिन आज ‘खरना’ मनाइँदै

काठमाण्डौ – प्राचीन मिथिला क्षेत्रमा धुमधामका साथ मनाउने गरिएको छठ पर्वको आज दोस्रो दिन खरना गरिँदैछ । चार दिने यो पर्वको दोस्रो दिन बर्तालुहरु आज ‘खरना’ विधिको तयारीमा छन् ।

बिहान स्नान गरी दिनभर निराहार उपवास तथा व्रत बसेर राती सख्खरमा पकाइएको खीर कूल देवता र छठी देवीलाई चढाइ बर्तालुले त्यही खीर खाने विधि पूरा गरिने छ । यो विधिलाई मैथिलीमा ‘खरना’ भनिन्छ ।

यसअघि पर्वको पहिलो दिन हिजो कात्तिक शुक्ल चौथीमा बर्तालुले ‘नहाय–खाय’ विधिका बीच व्रत सङ्कल्प गरिसकेका छन् । छठमा श्रद्धा, निष्ठा, समर्पणभाव र आत्मशुद्धि मुख्यपक्ष मानिन्छन् ।

पर्वको तेस्रो दिन भोलि सूर्य उपासनाको निराहार व्रत बसेर बेलुका बर्तालुले जलाशयमा बनेको मनोरम घाटमा पुगेर अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य दिने गर्छन् ।

त्यसैगरी, सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई दोस्रो अर्घ्य दिएर पर्व समापन गर्ने मैथिल चलन छ । पछिल्ला वर्ष छठ पर्व काठमाण्डौ उपत्यकासहित देशभर फैलिएको छ ।

सरकारले छठ पर्वको अवसरमा पर्सि सोमबार पनि सार्वजनिक बिदा दिएको छ ।

प्रकाशित मिति:
थप समाज